जोगवनी नाका सहज

२०७२ पुष २२ गते, बुधबार

काठमाडौ, २२ पुस । भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको छ । विराटनगरको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार अहिले दैनिक ३५ वटासम्म कन्टनेर आउन थालेका छन् । तीन दिनअघि सम्म यो नाका भएर तेस्रो देशका मुस्किलले १२ वटासम्म मात्र कन्टेनर आइरहेका थिए । जोगवनीदेखि पर पाँच किलोमिटरसम्म बङ्गलादेशबाट आएका कन्टेनरको लाइन रहेको थियो । चार दिनअघि उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको प्रतिनिधिमण्डलले नेपालतर्फका भन्सार अधिकृतसमेतको उपस्थितिमा भारतीय भन्सार, प्रशासन र सुरक्षाकर्मीका प्रतिनिधिसँग भेटी आग्रह गरिएपछि भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको हो ।
यसैबीच, मंगलबार नाकाबन्दी पछिकै धेरै ग्यास बुलेट काठमाडौं भित्रिएका छन् । नागढुङ्गा ट्राफिक प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक गुणनीधि खकुरेलका अनुसार मंगलबार राति असोज ७ गते यताकै सबैभन्दा धेरै ७ बुलेट ग्यास काठमाडौं आइपुगेको हो । सागर ग्यासको ३ बुलेट, नेपाल र सूर्य ग्यासको २/२ बुलेट सहित विभिन्न कम्पनीका ९ हजार ८ सय २४ ग्यास सिलिण्डर काठमाण्डू भित्रिएको उहाँले जानकारी दिनुभयो । बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएपछि सरकारले आधा भरिएको ग्यास सिलिण्डर बिक्रि गर्ने व्यवस्था मिलाएको छ । जस अनुसार एउटा बुलेटबाट २५ सय ग्यास सिलिण्डर भरिने ग्यास विक्रेताले बताएका छन् । ग्यासको आयात बढेपनि उपभोक्ताले सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् ।
अहिले आयात भएको ग्यासले सबै उपभोक्तालाई नपुग्ने भन्दै सहज रुपमा ग्यास पाउन अझै केहि समय लाग्ने ग्यास बिक्रेता महासंघले जनाएको छ । दैनिक झण्डै ४० बुलेट आवश्यक पर्नेमा अहिले काठमाडौं आइपुगेका ग्यास पर्याप्त नभएको महासंघका महासचिव चन्द्र थापाले बताउनुभयो ।
यस्तै प्रभावकारी व्यवस्था नभएका कारण पनि अहिले समस्या भएको उहाँको भनाई छ । अहिले उपभोक्ता ग्यास कार्ड भएको भए बिक्री गर्न समस्या नहुने उहाँको दाबी छ । ग्यास कार्ड भएको भए एउटै उपभोक्ताले दोहोर्या‍एर लिन नपाउने महासचिव थापाको तर्क छ । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ग्यास कार्डको योजना आएको भएपनि अझै लागु हुन सकेको छैन ।

प्रतिक्रियाहरु