कसले रोक्ने विद्युत् प्राधिकरणको मनपरी

२०७२ पुष १९ गते, आईतवार

काठमाडौं, १९ पुस । नेपाल विद्युत् प्राधिकरणले पटक–पटक ट्रान्सफर्मर र कन्डक्टर मर्मत गरिदिन आग्रह गरे पनि कुनै सुनुवाइ नगरेको उपभोक्ताहरुको गुनासो छ । प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मर समयमा मर्मत नगरिदिँदा राजधानीका दर्जनभन्दा बढी स्थानमा लामो बिध्युत सुचारु हुन सकेको छैन । काठमाडौँको बालाजु बाइपास, नेपालटार, गोंगबु, कोटेश्वर, कलङ्की, बलम्बु, कीतिपुर, थापागाउँलगायतका स्थानमा आधामात्रै विद्युत् प्रवाह हुने गरेको छ । खाना पकाउने समयमा विद्युत्को अत्यधिक माग भए पनि प्राधिकरणले मर्मतमा ध्यान दिन सकेको छैन । पछिल्लो दिनमा सहरी क्षेत्रमा अत्यधिक विद्युत् भार पर्दा ट्रान्सफर्मर जल्ने गरेको छ । ट्रान्सफर्मरमा समस्या आएको भन्दै प्राधिकरणले कतिपय स्थानमा आधामात्रै विद्युत् दिने गरेको छ ।
त्यसबाट मोबाइल चार्ज गर्नसमेत नपाइएको भन्दै स्थानीयले नजिकको प्राधिकरणको कार्यालयमा सम्पर्क गरे पनि फोन नउठाउने, मर्मतमा ध्यान नदिने, रुखो व्यवहार गर्ने गरेको उपभोक्ताहरुको दुःखेसो छ ।
प्राधिकरणले भने इन्धन र जनशक्तिको अभावमा मर्मत सम्भारमा सोचेजति ध्यान दिन नसकेको बताउछ । ट्रान्सफर्मर मर्मत केन्द्र लैनचौरमा भने ट्रान्सफर्मर मर्मत गर्ने जनशक्तिको अभाव रहेको प्राधिकरणको बताउछ । हाल दैनिक १५ वटाभन्दा बढी जलेको ट्रान्सफर्मर आउने गरेकामा दुई वटामात्रै मर्मत हुने गरेको छ । पछिल्लो दिनमा विद्युत्माथिको निर्भर बढ्दा राजधानीका विभिन्न स्थानमा आधामात्रै बत्ती दिइएको छ ।
आधामात्रै बत्तीले मोबाइल चार्ज गर्नसमेत नपाएको भन्दै प्राधिकरणका विभिन्न वितरण केन्द्रमा दैनिक १०० भन्दा बढी फोन आउने गरेको छ । तर प्राधिकरणका कर्मचारीले फोन उठाएर राखिदिने, सकेसम्म कुरै नगर्ने, कुरा गरे पनि मर्मत गर्न आउँदैछ भन्नेजस्ता उत्तर दिएर टार्ने गरेका छन् ।
पछिल्लो दिनमा प्राधिकरणले जडान गरेका ५३० बढी ट्रान्सफर्मर जलेका छन् । समयमा मर्मत नहुँदा उपभोक्ता बढी मारमा परेका छन् । भारतको अघोषित नाकाबन्दीपछि खाना पकाउने ग्यास अभाव हुँदा हिटर, इन्डक्सन चुलो र राइस कुकरको बढी प्रयोग हुँदा प्राधिकरणको सम्पूर्ण संरचनामा भार परेको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रियाहरु