नाकाबन्दीको कारण खरब रुपैयाँ बराबरको घाटा

२०७२ पुष १८ गते, शनिबार

काठमाडौँ । भारतले गरेको नाकाबन्दीपछि देशले भन्सार तथा आन्तरिक राजस्वबाट झण्डै एक खरब रुपैयाँ बराबरको घाटा बेहोर्नु परेको छ । तराई मधेसको आन्दोलन र नाकाबन्दीका कारण सङ्कट गहिरिँदै जाँदा आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित भएको हो । मौजुदा दक्षिणी नाकामा समस्या उत्पन्न भइरहँदा गोरखा भूकम्पका कारण उत्तरी नाकासमेत ठप्प भएपछि थप जटिलता थपिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना शतप्रतिशतको प्रगति हासिल गर्न सफल भन्सार विभागले भदौ, असोज, कात्तिक, मङ्सिरमा ठूलो घाटा व्यहोर्नु परेको छ । भदौमा १७ अर्ब १८ करोड रुपैयाँ भन्सार असुलीको लक्ष्य लिए पनि ६५ दशमलव ७९ प्रतिशत अर्थात ११ अर्ब २४ करोड रुपैयाँ मात्रै उठाएको छ । असोजमा १५ अर्ब सात करोड रुपैयाँको लक्ष्य लिएकोमा ४२ दशमलव ५१ प्रतिशत अर्थात ६ अर्ब ४० करोड रुपैयाँ, कात्तिकमा १४ अर्ब ८४ करोड लक्ष्य राखेकोमा ४१ दशमलव ७४ प्रतिशत अर्थात ६ अर्ब १९ करोड रुपैयाँ असुली, मङ्सिरमा १६ अर्ब ५६ करोड लक्ष्य राखेकोमा ५९ दशमलव ५६ प्रतिशत अर्थात नौ अर्ब ८६ करोड रुपैयाँ मात्र असुली गरेको छ । वीरगन्ज नाकाबाट मात्रै तीन महिनामा २१ अर्ब रुपैयाँ घाटा भएको छ ।
त्यसैगरी, भैरहवा, नेपालगञ्ज, मेची, वीरगञ्जको सुख्खा बन्दरगाह तथा अन्य भन्सार नाकाबाट हुने निर्यातमासमेत कमी आएको छ । चार महिनामा कैलाली भन्सार नाकाबाहेक अन्य भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ । वीरगञ्ज भन्सारबाट ४३ अर्ब ३२ करोड, वीरगञ्ज सुख्खा बन्दरगाहबाट १४ अर्ब २९ करोड र विराटनगर भन्सार नाकाबाट २४ अर्ब ७० करोड रुपैयाँको आयात भएको छ । पेट्रोलियम पदार्थ, सवारी साधन, फलाम, स्पात, चुनाढुङ्गा, सिमेन्ट, विद्युतीय तथा मसलन्द सामान आयात रोकिएको छ । भन्सार नाकामा लामा सवारीका लाइनले मुलुकको आर्थिक वृद्धि दरलाई समेत प्रभाव पारेको छ । भन्सार विभागका प्रवक्ता सूर्य सेढाइका अनुसार तातोपानी नाकाले मासिक ११ करोड रुपैयाँ राजस्व उठाउने गरेकोमा विगत नौ महिनादेखि ठप्प हुँदा समस्या भएको छ । मुलुकको ५५ प्रतिशत भन्सार राजस्व धान्ने दक्षिणको छिमेकीसँगका मौजुदा सीमा नाकामध्ये वीरगन्ज र उत्तर तर्फको रणनीतिक महत्वको नाका भूकम्पका कारण ठप्प भएपछि आयातमा निर्भर राजस्व नकारात्मक विन्दुमा पुगेको हो ।

प्रतिक्रियाहरु