सरकारी निकाय नै इन्धन तस्करीमा

२०७२ पुष १७ गते, शुक्रबार

काठमाडौ, १७ पुस । जिल्ला प्रशासन कार्यालय दाङको सिफारिसका आधारमा बर्दियाबाट डिजेल तस्करी हुने गरेको खुलासा भएको छ । सरकारी निकायकै संलग्नताका बर्दियाबाट इन्धन तस्करी हुने गरेको खुलासा भएको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सोना सिमेन्ट दाङका दुईवटा ट्रक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाएपछि यस्तो रहस्योद्घाटन भएको हो ।
बर्दियाको मोहम्मदपुर गाविस–१ गणेशपुर चोकबाट आज मोर्चाका कार्यकर्ताले रा१क १८१ र रा१क १८२ नम्बरका ट्रकसहित करिब १३ हजार लिटर डिजेल नियन्त्रणमा लिएका थिए ।
५० देखि ५५ लिटर क्षमताका २७१ वटा जर्किनमा डिजेल लोड गरिरहेको अवस्थामा दुईजना चालकलाई समेत पक्राउ गरिएको छ । उक्त डिजेल सोनापुर सिमेन्ट प्रालि बिजौरी, दाङका लागि जिल्ला प्रशासन कार्यालय दाङको कार्तिक २३ गतेको सिफारिसपत्र देखाएर लैजान लागिएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए ।
पेट्रोलियम पदार्थको आयातका लागि नेपाल आयल निगमलाई मात्र अनुमति भएकाले सो डिजेल अवैध भएको छोटी भन्सार कार्यालय गुलरियाका प्रमुख चक्रबहादुर सोनीले जानकारी दिए ।

प्रतिक्रियाहरु