प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द

२०७२ मंसिर २८ गते, सोमबार

काठमाडौं, २८ मंसिर । नागरिक उड्डयन प्राधिकरण पोखरा र नेपाल हवाई खेलकुद संस्थाबीच उडान अनुमति शुल्कको विषयमा विवाद भएपछि पोखरामा सञ्चालित प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द भएको छ । उडान अनुमतिको लागि व्यावसायिक पाइलटले यसअघि बुझाउँदै आएको मासिक ९ हजार ४० रुपैयाँ शुल्क नतिरेकाले उडान भर्नमा रोक लगाएको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ । तर व्यावसायीले भने यसअघि उडान अनुमति पत्र नभएकाले तिर्दै आएको शुल्क अब अस्थायी उडान अनुमति पत्र प्राप्त गरेपछि नतिर्ने जनाएका छन् ।
नागरिक उड्डयन कार्यालयबाट उडान अनुमति प्राप्त गरेका पाइलटको पटके अनुमति शुल्क खारेज नभएसम्म प्याराग्लाइडिङ उडान नगर्ने जनाएका छन् । प्याराग्लाइडिङका पाइलटले शुल्क महंगो भएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेर समेत उनीहरुले शुल्क घटाउन तत्कालिन महानिर्देशकलाई आग्रह गरेका थिए ।
नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष सोबित बानियाँले नागरिक उड्डयन प्राधिकरणले नियमनको नाममा १५÷१५ दिनमा उडान अनुमति शुल्क उठाउने तर व्यावसायलाई व्यस्थित बनाउन कुनै पनि काम नगरेको भन्दै प्राधिकरणको नीतिका कारण २० वर्षदेखि पोखरामा सञ्चालनमा रहेको प्याराग्लाइडिङ व्यावसाय धरासायी बन्न पुगेको बताए ।
हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश बहादुर भट्टराईको अध्यक्षतामा आइतबार बसेको आकश्मिक बैठकले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गर्दै समग्र समस्याको नेपाल नागरीक उड्डयन प्राधिकरणबाट समाधान नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
संघर्ष समितिले यसबारेमा सोमबार पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, जिल्ला प्रशासन कार्यलय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाउने भएको छ ।
सराङकोटबाट पोखराको आकाशमा सुरु भएको प्याराग्लाइडिङ उडानका लागि पोखरामा अहिले ४० वटा कम्पनी छन् । ५० वटाले उडानको लागि अनुमति पाएका छन् । प्याराग्लाइडिङमा झण्डै दुई सय प्यारापाइलट छन् । ती मध्ये लाइसेन्स प्राप्त नेपाली पाइलटको संख्या मात्र एक सय ७ पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु