विश्व जलवायु परिवर्तन शिखर सम्मेलन सुरु

२०७२ मंसिर १४ गते, सोमबार

काठमाडौं, १४ मंसिर । फ्रान्समा विश्व जलवायु परिवर्तन शिखर सम्मेलन सुरु भएको छ । हालै भएको आतंकवादी आक्रमणका कारण पेरिसभरको सुरक्षा व्यवस्था भने अत्यन्तै कडा बनाइएको छ । सम्मेलन सुरु हुनु पूर्व विश्वभर भने प्रदर्शन गरिएका छन् । सम्मेलनमा विश्वका एक सय ५० देशका नेताले भाग लिँदै छन् । जसमा अमेरिकी राष्ट्रपति बराक ओबामा, चीनका राष्ट्रपति शि जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलगायतका विश्व नेता हुनेछन् ।
आयोजक राष्ट्रका राष्ट्रपति फ्रास्वाँ ओलान्डले जलवायु परिवर्तनबारे विश्वस्तरमा एक बाध्यकारी सम्झौता गर्न सबैमा अपील गरेका छन् । यता, संसारका विभिन्न स्थानमा प्रदर्शनमा उत्रेकाहरुले जलवायु परिवर्तन रोक्नका लागि ठोस कदम उठाउन विश्व नेतासँग अपील गरेका छन् ।
अष्ट्रेलियाको सिड्नीदेखि सुरु भएको यस्तो प्रदर्शन दुई हजारभन्दा बढी स्थानमा भएका छन् । जहाँ हजारौंहजार मानिस सडकमा उत्रेका छन् ।
पेरिसमै भने प्रदर्शनका क्रममा हिंसा भड्केको छ । प्रहरीले सयौं मानिसलाई गिरफ्तार गरेको छ भने भीड नियन्त्रण गर्न अश्रुग्याँस नै प्रहार गर्नुपरेको छ । शहरको मध्य भाग रिपब्लिक चोकमा भेला भएका हजारौंको भीडलाई हटाउने क्रममा हिंसा भड्केको हो ।
इस्लामिक अतिवादी संगठन आईएसले हालै पेरिसमा आतंकवादी आक्रमण गरी एक सय ३० जनाको हत्या गरेकाले सुरक्षाकर्मीमा दबाब बढेको छ । औद्योगीकरण पूर्वको तुलनामा विश्वको तापमानमा औसतमा २ डिग्रीभन्दा बढी वृद्धी हुन नहुने माग प्रदर्शनकारीले गरेका छन् ।
जलवायु परिवर्तनबाट स्वास्थ्य, खाद्य सुरक्षा, विकासलगायत क्षेत्रमा परेको असरबारे प्रदर्शनकारीले विश्व नेताहरुको ध्यानाकर्षण गराएका छन् ।
जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर काला पत्थरमा परिणत भइरहेको छ भने समुन्द्रमा पानीकोस्तर बढ्दा समुन्द्री किनारका वस्तीहरु डुबानमा पर्ने खतरा बढेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार