नेपालमा अर्को मानवीय संकट पर्नसक्छ : ह्युगो

२०७२ मंसिर ९ गते, बुधबार

काठमाडौं, ९ मंसिर । बेलायतले नेपाल–भारत सीमानाकामा उत्पन्न अवरोधबाट मानवीय सहायताका सामग्री आपूर्तिमा परेको असरप्रति गम्भीर चासो व्यक्त गरेको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई हालै बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले टेलिफोन गरेर आफ्नो मुलुकको चासो र चिन्ता व्यक्त गर्दै नेपाल सरकारले पुनःनिर्माणको प्रक्रियालाई आवश्यक नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिएको काठमाडौंस्थित बेलायती राजदूतावासले जनाएको छ ।
उपप्रधानमन्त्री थापा र राज्यमन्त्री स्वायरबीच द्विपक्षीय चासो र हितका विषयमा सकारात्मक एवम् रचनात्मक विचारविमर्श भएको जानकारी दिँदै उक्त दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा शिशिरयामको आगमनसँगै सीमानाकामा उत्पन्न अवरोध शीघ्र समाधान नभएमा अर्को मानवीय संकट पर्ने चिन्ता बेलायतले व्यक्त गरेको उल्लेख छ ।
नेपाल र नेपाली जनताप्रतिको बेलायतको मैत्री र समर्थन निरन्तर रहने बताउँदै राज्यमन्त्री स्वायरले नेपालको राजनीतिक समस्या नेपालले नै समाधान गर्नेमा बेलायत स्पस्ट रहेको उपप्रधानमन्त्री थापालाई अवगत गराएका थिए ।
‘नेपाली नागरिकका आवश्यकता पूरा गर्ने सहमतिको विन्दुमा पुग्न शान्तिपूर्ण वार्ता र सहमतिलाई जारी राख्नेमा बेलायत आशावादी रहेको’ आशय राज्यमन्त्री स्वायरले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु