नाकाबन्दी बिरुद्ध एनआरएन

२०७२ कार्तिक २५ गते, बुधबार

काठमाडौं, २५ कात्तिक । विदेशमा रहेका हिमाल पहाड र तराईका लाखौं नेपालीको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिणी नेपालमा भइरहेको राजनीतिक बिरोध र प्रर्दशन तथा पछिल्लो केही महिनादेखि भारतको अघोषित नाकाबन्दीले उत्पन्न गम्भिर मानवीय संकटका कारण दुखित भएको छ ।
जारी प्रर्दशनका क्रममा सयौं मानिस मरेका वा घाइते भएका छन् र इन्धन संकटले सवारी दुर्घटना निम्त्याएका छन् । अत्याधिक भिड हुने सवारी साधनको छतमा खतरनाक ढङ्गले महिला, बालबालिका र ज्येष्ठ नागरिकसहितका यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अत्यावश्यक सामाजिक सेवाहरु प्रभावित भएका छन् र अस्पतालहरु अत्यावश्यक औषधि र सामग्रीको अभाव झेल्दैछन् ।
युनिसेफका अनुसार १६ लाख बालबालिका लगभग तीन महिनदेखि विद्यालय जानबाट बञ्चित छन् । धेरै उद्योग धन्दा र साना ब्यापार बन्द भएका छन् र अत्यावश्यक आपूर्ति र सेवाहरुको गम्भिर अभाव पैदा भएको छ ।
यसले पहिले नै गम्भिर समस्याका रुपमा देखापरेको बेरोजगारी झनै बिकराल बनाएको छ । मूख्य सिजन कै समयमा पर्यटन व्यवसाय गम्भिर रुपमा प्रभावित भएको छ ।
यो सबै ६ महिना पहिलेको बिनासकारी भूकम्पको प्रभावसंग जुधिरहेको कठिन समयमा भएको छ । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, दाताहरु सहितका अन्तर्राष्ट्रिय समुदायले यसैका कारण भूकम्पपछिको पुनर्निर्माण प्रयास रोकिएको गुनासो गरेका छन् ।
यो समयमा नेपालमा खुसी साट्ने र चाडपर्वहरु मनाउनु पर्ने हो । तर, देश विदेशमा बस्ने र काम गर्ने लाखौं नेपाली र भारतमा बस्ने र काम गर्ने नेपालीहरु (जसका नातेदारहरु सीमापारी बस्छन्) आफ्नो पूख्र्यौली थलोमा पुगेर दिपावली र छठ मनाउन सक्ने अवस्थामा छैनन् ।
यस्तो खेदजनक अवस्था तुरुन्तै अन्त्य हुनुपर्छ । हामी विशेषगरी भारतलाई दुईदेशका जनताबीच रहिआएको सद्भावना र मित्रतालाई दिगो राख्दै उसले लगाएको अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्न अपिल गर्दछौं ।
हामी नेपाल सरकार र आन्दोनरत दलहरुलाई उचित संवैधानिक र शान्तिपूर्ण प्रक्रियाको पालना गर्दै संवादमार्फत छिट्टै सबै विवादित मुद्दाहरुको समाधान खोज्न आग्रह गर्दछौं ।
एनआरएनए आफै पनि नेपालीहरुको सहयोगार्थ मानवीय सहयोग परिचालन गर्न अगाडी बढ्दैछ ।
नेपालमा जारी मानवीय संकट समाधानका लागि गैरआवासीय नेपाली संघले निम्न कार्य गर्ने छ –
सरकारी निकाय र साझेदारहरुसंग समन्वय गरी अस्पताल तथा स्वास्थ्य चौकीलाई चाहिने औषधि र चिकित्सा तथा शल्य चिकित्साजन्य सामाग्री एवं मानवीय सहयोग प्रदान गर्ने छ ।
जाडो समयका लागि आवश्यक पर्ने कम्बल र अरु सामाग्री संकलन र वितरण गर्न एउटा ‘एनआरएनए संकट सहयोग समूह’ गठन गर्ने छ ।
संकटको सकारात्मक समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पहलकदमीलाई संघले जारी राख्ने छ ।

प्रतिक्रियाहरु