ग्राङ दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

२०७२ कार्तिक १८ गते, बुधबार

काठमाडौं, १८ कार्तिक । ३५ जना यात्रु बोक्ने क्षमता भएको बसमा ८५ जनाभन्दा बढी यात्रु कोचेपछि अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । हिजो दिउसो रसुवाको राम्चे गाउँ विकास समितिको ग्राङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । दुर्घटनास्थलमै २९ जनाको मृत्यु भएको थियो भने त्रिशुली अस्पतालमा ५, जिल्ला अस्पताल रसुवामा एक र काठमाडौंस्थित त्रिविवि शिक्षण अस्पताल महाराजगंजमा एक गरी सातजनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३६ पुगेको हो ।
मृतकहरुमा २० पुरुष, १४ महिला, एक बालक र एक बालिका छन् । मृत्यु हुनेमा धुन्चे र धैबुङ गाविस सचिव रुपन्देहीका टिकमबहादुर शाही, बारा गढीमाई–७ की दीपा चिमौरिया, रसुवा गोल्जुङ–५ का ३ बर्षीय बालक निमा टासी तामाङ र नुवाकोट मनकामनाका बस चालक सुदर्शन गुरुङको मात्र सनाखत हुन सकेको छ ।
दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
रसुवा र नुवाकोटबाट गएका प्रहरीले दुर्घटनास्थलबाट शव निकाल्नुका साथै घाइतेको उद्धार गरेका थिए ।
बा३ख ५७०६ नम्बरको बस हिजो काठमाडौंबाट रसुवाको चिलिमेतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।
इन्धन अभावका कारण र रसुवा जाने पहिलो बस भएकाले क्षमताभन्दा धेरै यात्रु बसमा रहेकोले ठूलो मानवीय क्षति भएको जनाइएको छ । इन्धन संकटले गर्दा बसले धेरै यात्रु बोक्नुपर्ने बाध्यता रहेको र सडकसमेत मर्मत नभएकाले दुर्घटना भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार