उपराष्ट्रपति चुन्न मतदान हुदै

२०७२ कार्तिक १४ गते, शनिबार

काठमाडौं, १४ कात्तिक । संसद भवन नयाँबानेश्वरमा उपराष्ट्रपति चयनको लागि मतदान सुरु भएको छ । उपराष्ट्रपति चयनको लागि आज दिउँसो दुई बजेसम्म मतदान हुने संसद सचिवालयले जनाएको छ । बेलुका ५ बजे बस्ने संसद बैठकमा निर्वाचनको परिणाम घोषणा हुनेछ । उपराष्ट्रपतिको लागि सत्तारुढ दलको तर्फबाट एकीकृत नेकपा माओवादीका नन्दबहादुर पुन र नेपाली कांग्रेसबाट अमियकुमार यादवको उम्मेदवारी परेको छ । शुक्रबार उम्मेदवारी दर्ता गराएका ४ जनामध्ये २ जनाले उम्मेद्वारी फिर्ता लिएपछि पुन र यादवबीच प्रतिस्पर्धा हुने भएको हो ।
नेकपा एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले मधेसी वा थारु समुदायको उम्मेद्वार उठाउन दबाब दिएपनि एकीकृत माओवादीले आफूलाई उपराष्ट्रपति नदिन चलखेल सुरु भएको भन्दै सत्ता गठबन्धनमै धरापमा पर्ने चेतावनी दिएपछि सतारुढ दलका तर्फबाट पुन साझा उम्मेदवार बन्नुभएको हो ।
अहिलेको समीकरण अनुसार पुन निर्वाचित हुने झण्डै निश्चित छ । संसदमा अहिले कायम रहेको संख्या ५ सय ९७ अनुसार निर्वाचित हुन कम्तीमा २ सय ९९ मत आवश्यक पर्छ । सत्तारुढ गठबन्धनसँग यो भन्दा धेरै साँसद संख्या छ ।

प्रतिक्रियाहरु