त्रिविले उत्तरपुस्तिका हरायो !

२०७२ कार्तिक १३ गते, शुक्रबार

काठमाडौं, १३ कात्तिक । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको लापरबाहीका कारण स्नातक तह तेस्रो वर्षको परीक्षा दिएका नेपाली विषयका ४२ जना परीक्षार्थीको उत्तरपुस्तिका हराएको छ । अरू सबै विषय पास भएका विद्यार्थी स्नातकोत्तर तहमा भर्ना हुनबाट वञ्चित भएका छन्।त्रिवि स्रोतका अनुसार उत्तरपुस्तिका परीक्षण गर्न घर लगेका प्राध्यापकले हराइदिएका कारण ती विद्यार्थीको नतिजा रोकिएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराएका विद्यार्थीको नतिजालाई स्थगित (विदहेल्ड) गरेर अन्य विद्यार्थीको नतिजा असोज अन्तिम साता प्रकाशित गरेको थियो।परीक्षा समितिका अध्यक्ष तथा त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलले उत्तरपुस्तिका हराएको स्वीकार गरे। परीक्षण गर्न घर लगेका प्राध्यापकले हराएको हो वा परीक्षा केन्द्रबाट नआएको हो भन्‍ने विषयमा स्पष्ट नभएको उनले बताए । लाखौं विद्यार्थी भएको ठाउँमा केही उत्तरपुस्तिका हराउनु सामान्य भएको पौडेलले बताए। ‘कहाँबाट उत्तरपुस्तिका हराएको हो भन्ने विषयमा छानबिन समिति गठन गरेर अध्ययन भइरहेको छ। सत्यतथ्य बाहिर आएपछि ती विद्यार्थीलाई अर्को परीक्षा लिने कि नलिने भन्‍ने निर्णय गर्छौं’, पौडेलले भने, ‘जहाँबाट हराएको भए पनि दोषी पत्ता लागेपछि कडा कारबाही गर्छौं।’ उत्तरपुस्तिका हराएका ४२ जना परीक्षार्थीको नतिजा स्थगित गरेर अन्य विद्यार्थीको नतिजा असोज अन्तिम साता प्रकाशित गरिएको थियो। परीक्षानियन्त्रक केशव बास्तोलाले विगतमा पनि स्नातक र स्नातकोत्तर तहका धेरै विद्यार्थीको नतिजा ‘विदहेल्ड’ हुने गरेको जानकारी दिए। उनले नेपाली विषयका कति विद्यार्थीको नतिजा विदहेल्ड भएको हो र के कारणले त्यस्तो भएको हो भन्‍ने विषयमा आफू अनभिज्ञ रहेको बताए। बास्तोलाले नेपाली विषयको नतिजा प्रकाशनलगायत जिम्मेवारी सहनियन्त्रक शंकर भण्डारीलाई दिइएकाले आफूलाई उत्तरपुस्तिका हराएको विषयमा जानकारी नभएको पनि बताए। भण्डारीले परीक्षार्थीको नतिजा विदहेल्ड भएको स्वीकारे पनि के कारणले यस्तो भएको भन्ने विषयमा थप बताउन चाहेनन्।
उत्तरपुस्तिका हराएका विद्यार्थी रत्नराज्यलक्ष्मी क्याम्पसका हुन्। उनीहरूले पाटन क्याम्पस केन्द्रबाट परीक्षा दिएका थिए। त्रिवि स्रोतका अनुसार ती विद्यार्थीका उत्तरपुस्तिका त्रिवि केन्द्रीय क्याम्पसका एक प्राध्यापकले परीक्षण गर्न घर लगेका थिए। अनुसन्धान जारी रहेकाले त्रिविले ती प्राध्यापकको नाम गोप्य राखेको छ।उत्तरपुस्तिका हराएका विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा परीक्षा बोर्डको बैठकले समेत ठोस निष्कर्ष निकाल्न नसकेपछि विदहेल्ड राखेर नतिजा सार्वजनिक गरिएको थियो। सामान्यतया विद्यार्थीले परीक्षामा हाजिर नगरेमा, रोल नम्बर गलत लेखेमा वा प्राक्टिकल मार्क लेख्न भुलेमा मात्र नतिजा विदहेल्ड हुने गर्छ।नतिजा सार्वजनिक भएलगत्तै दसैं बिदा परेका कारण नतिजा रोकिएका सबै विद्यार्थीले क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरेका छैनन्।
रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख रुद्र पौडेलले भने, ‘नतिजा आएलगत्तै बिदा परेका कारण विद्यार्थीको मार्कसिट आएको छैन। मार्कसिट आएपछि सबै कुरा थाहा होला।’ – सूर्यप्रसाद पाण्डे, अन्नपुर्ण दैनिकवाट साभार

प्रतिक्रियाहरु