उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता हुने

२०७२ कार्तिक १३ गते, शुक्रबार

काठमाडौं, १३ कार्तिक । व्यवस्थापिका संसद् सचिवालयले उपराष्ट्रपतिका लागि आज बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारी दर्ताको आह्वान गरेको छ । संसद् सचिवालयले साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र साढे २ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरेको छ ।
त्यसैगरी ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलि ११ बजेदेखि २ बजेसम्म संसद्मा गोप्य मतदान हुने, साढे २ बजे मतगणना र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।
उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका पूर्वलडाकु कमाण्डर नन्दकिशोर पुन र नेपाली कांग्रेसले अमियकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् । तर सत्तारुढ गठबन्धनभित्र उपराष्ट्रपतिमा मधेसी या थारु समुदायका व्यक्तिलाई अघि सार्नुपर्ने आवाज उठेको छ । त्यसका लागि एकीकृत माओवादी स्थायी कमिटीको बैठक आज बिहान बस्दै छ ।
त्यसैगरी आजै बस्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार तय गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु