बन्द र आन्दोलनका कारण रगत अभाव

२०७२ कार्तिक १२ गते, बिहीबार

काठमाडौं,१२ कार्तिक । पुर्व क्षेत्रका अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितका मदेशी दलहरुको लागातारको बन्द तथा आन्दोलनका कारण रक्तदान कार्यक्रमहरु संचालन हुन नसक्दा रगतको अभाव हुन थालेको हो । धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दशैको फुलपातीको दिन देखिनै रगतको अभाव शुरु भएको हो । रगतको अभाव हुँदा गम्भीर प्रकृतिका बिरामीहरुलाई उपचार तथा अप्रेशन गर्ननै समस्या हुन थालेको छ । तराई क्षेत्रको बन्दका कारण पुर्वी तराईका अस्पतालहरु सहजरुपमा सञ्चालन हुन नसक्दा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढेसंगै रगतको अभाव हुन थालेको छ । नेपाल रेडक्रस सोसाईटी सुनसरीले संचालन गरेको प्रतिष्ठान स्थित ब्लड बैंकमा दैनिक १ सय भन्दा बढी रगतको माग आईरहेको छ । रगत अभावकै कारण बिरामीले समयमै उपचार गराउन समेत सकेका छैनन् । कतिपय बिरामीको रगत अभावकै कारण प्रतिष्ठानमा शल्यक्रिया हुन सकेको छैन भने शल्यक्रिया गरिएका बिरामीको समेत अवस्था चिन्ताजनक छ । धरानमा रगत अभाव भए पछि प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको शल्यक्रियाका लागि समेत रगत पु¥याउन नसकेको ब्लड बैंकका प्राविधिक रामनारायण पण्डितको भनाई छ ।प्राविधिक, ब्लड बैंक, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ब्लड बैंकका अनुसार ओ पोजिटिभ बाहेक सबै प्रकारका रगतको अभाव छ । ब्लड बैंकमा ओ पोजिटिभ रगत पनि ५ पोका मात्रै रहेको प्राविधिक पण्डितले बताउनुभयो । दैनिक जसो १ सय पिण्ट रगतको आवश्यक भए पनि बैंकमा स्टक नहुँदा बिरामी आफैले रक्तदाताहरु खोज्नु परेको छ । अहिले ब्लड बैंक एउटा रक्तदाताबाट बिरामीका लागि रगत तानेर दिने माध्यम मात्रै बनेको छ । पछिल्लो समय रक्तदान कार्यक्रम संचालन हुन नसक्दा र बन्दका कारण तराईका बिरामीहरु समेत प्रतिष्ठानमा आउने भएकाले रगतको अभाव बढेको ब्लड बैंकका ईन्चार्ज सुबास चन्द्र सिंहले बताए ।

प्रतिक्रियाहरु