साबधान, कागती पानी धेरै नखानुस्

२०७२ आश्विन ३० गते, शनिबार

काठमाडौँ । कागती मानव स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । कागतीमा भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्वहरुको भण्डार रहेको हुन्छ । कागतीलाई विभिन्न स्वरुप र प्रकारमा खाइन्छ । चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर । शरीरको वजन कम गर्ने वा शरीरबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोग गर्ने हुनाले कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ । कतिपयले अलिक बढि नै कागती पानी पिउने गरेको पाइन्छ र जति धेरै खायो उति नै फाइदा हुन्छ भन्ने मानसिकता रहेको पनि पाइन्छ । तर धेरै खाएमा गुड पनि तितो हुन्छ भन्ने उखान झैँ कागतीपानीको अत्यधिक सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । धेरै कागतीपानी खानुका बेफाइदा यस्ता छन्–
१. कागतीमा साइट्रिक एसिड पाइन्छ । धेरै कागतीपानीको सेवनले यो अम्लले दाँतसँग रासायनिक प्रतिक्रिया गरी दाँतलाई कमजोर बनाउने वा खियाउने गर्दछ । त्यसैले कागतीपानी पिउँदा बढि तातो बनाएर नपिउने र मुखमा धेरैबेर नराख्ने अर्थात् सर्लक्कै निल्ने गर्नुपर्छ ।
२. यदि तपाइँमा एसिडिटीको समस्या छ भने कागतीको सेवन एकदमै कम गर्नुहोस् । यसले छाति तथा पेट पोल्ने तथा एसिडिटी बढाउने समस्या पैदा गरिदिन्छ ।
३. कतिपय मानिसहरु खाना खाइसकेपछि खानेकुरा पचाउने भन्दै कागतीको सेवन गर्दछन् । तर भरिएको पेटमा कागती खानाले असर गर्नसक्छ र यसले पाचन क्रियामा गडबडी उत्पन्न गराउन सक्छ । त्यसबाट अपच, झाडापखला जस्ता समस्या हुनसक्छन् । त्यसैले खाइ खाइसकेपछि होइन की खानासँगै कागती खानुपर्छ ।
४. कागतीमा अम्ल हुनुका साथै अक्जालेट तत्व पनि हुन्छ । यसको अत्यधिक सेवनले शरीरमा क्रिस्टल बन्न सक्छ । जुन स्क्रिटल अक्जालेटका कारण मृगौला तथा पित्तथैलीमा पत्थरी पर्नसक्छ ।
५. कागतीपानी पिउँदा पटक–पटक पिसाब लाग्दछ । यसका कारण शरीरमा डिहाइड्रेसन अर्थात् जलवियोजनको खतरा पनि हुनसक्छ । त्यसैले कागती पानी सँगै सामान्य पानी पनि पर्याप्त पिउनुपर्छ । यदि दिनमा अरु पानी पर्याप्त पिउन नपाउने अवस्था छ भने कागती पानी नपिउनु राम्रो हुन्छ ।

प्रतिक्रियाहरु