घटस्थापनादेखि दसैं विदा दिने प्रस्ताव मन्त्रिपरिषद्द्वारा अस्वीकृत

२०७२ आश्विन २२ गते, शुक्रबार

काठमाडौं ,२२ असोज । आजको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयले दशैंमा थप बिदा दिने भनी गरेको प्रस्ताव अस्वीकृत गरेको छ । इन्धन संकट भएको भन्दै गृहले दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्को बैठकले देशको असहज परिस्थितिबारे मित्र राष्ट्रलाई जानकारी गराउँदै स्थिति सहज बनाउन सहयोगको लागि आग्रह गर्ने निर्णय गरेको छ । यसको लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ । यसैगरी, बैठकले भारतबाट इन्धन आपूर्तिलाई सहज बनाउने जिम्मा बाणिज्य मन्त्री सुनिलबहादुर थापालाई दिएको छ । बैठकले थापाको संयोजकत्वमा आपूर्ति व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । भारतसँग गतिरोध अन्त्यको लागि वार्ता गर्ने र अन्य मुलुकबाट पनि इन्धन ल्याउन सकिने जिम्मेवारी समितिलाई दिइएको छ । बैठकले ऊर्जा संकट समाधानको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु