सुरक्षाको प्रत्याभूति भए केबुल टेलिभिजन सञ्चालन गरिने

२०७२ आश्विन १४ गते, बिहीबार

काठमाडौ, १४ असोज । नेपाल केबुल टेलिभिजन सङ्घले सुरक्षाको प्रत्याभूत भए केबुल टेलिभिजन सञ्चालन गर्न सकिने जनाएको छ । सङ्घले भारतीय च्यानल बन्द गरेको सन्दर्भमा सूचना तथा सञ्चार मन्त्रालयले २४ घन्टाभित्र जवाफ मागेको सन्दर्भमा सङ्घले मन्त्रालयलाई पत्र पठाएर केबुल टेलिभिजन सञ्चालनका लागि सुरक्षाको माग गरेको हो ।
‘मन्त्रालयले मागेको जवाफ हामीले बुधबार पठाएका छौं, असुरक्षाको वातावरणले गर्दा बन्द गरिएको हो सुरक्षाको प्रतिबद्धता चाहियो भनेका छौं, यदि त्यसो भएमा हामी केबुल टेलिभिजन सुरु गछौं’ सङ्घका अध्यक्ष सुधीर पराजुलीले भने ।
भारतले अघोषित नाकाबन्दी गरेपछि त्यसको विरोधमा नेकपा–माओवादीले भारतले नेपालमाथि हस्तक्षेप गरेको जनाई हिन्दी चलचित्र र च्यानल बन्न गर्न दबाब दिएपछि मङ्गलबार १० बजेदेखि केबुल प्रदायक संस्थाले भारतीय च्यानल बन्द गरेको थियो । सङ्घ आबद्ध चार सय केबुल टेलिभिजन सेवा प्रदायक संस्था आबद्ध रहेका छन् ।
यसैबीच, केवल टिभी च्यानल सञ्चालकहरुले भारतीय नाकाबन्दीको विरोधमा नेपालमा भारतीय च्यानलहरु प्रसारणमा रोक लगाएको भन्दै सञ्चार मन्त्रालयले केवल सञ्चालकहरुलाई कारबाहीको चेतावनी दिए लगत्तै नेकपा माओवादीले सरकारको कडा प्रतिवाद गरेको छ । भारतले नाकाबन्दी लगाएसँगै नेपालमा भारतीय च्यानल तथा गाडीहरुसमेत सञ्चालन गर्न नदिने निर्णय गरेको माओवादीले सञ्चारमन्त्रालयको निर्देशनको कडा विरोध गर्दै सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई भारतीय दलाल भन्दै भौतिक कारबाहीको चेतावनी दिएको छ ।
माओवादीको भातृसंगठन अखिल नेपाल जनसांस्कृतिक महासंघ र अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मीसंघले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै सञ्चारमन्त्रीको तिव्र आलोचना गरेका छन् । संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘भारतीय विस्तारवादका दलाल मिनेन्द्र रिजालको कदमको घोर विरोध तथा भत्सर्ना गर्दछाँै ।’
माओवादीले भारतले नाकाबन्दी गर्दा नेपालीहरु राष्ट्रियताप्रति संवेदनशिल भएकाबेला भारतीय पक्षको पक्षपोषण गर्ने किसिमको अभिव्यक्ति आउनु मुलुकप्रतिको बेइमानी भएको ठहर गर्दै भारतकको समर्थन गर्ने मन्त्री रिजालमाथि भौतिक कारवाहिसम्मको चेतावनी दिएको छ । माओवादीले भारतीय च्यानलहरु सदाका लागि बन्द गर्ने समेत चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार