दोस्रो अन्तर्राष्ट्रिय नारी सम्मेलन काठमाडौँमा हुने

२०७२ आश्विन २ गते, शनिबार

काठमाडौँ । दोस्रो विश्व नारी सम्मेलन आगामी फागुन २९ देखि चैत ४ गतेसम्म काठमाडौँमा हुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सम्मेलनका युरोपेली संयोजक मोनिका गार्टनर एन्जेलले सन् १९९५ मा बेइजिङमा सम्पन्न राष्ट्रसङ्घीय विश्व नारी सम्मेलन भएको २० वर्षपछि राष्ट्र सङ्घसहित सरकारकारहरुले लैङ्गिक समानता ल्याउने प्रतिबद्धता व्यक्त गरे पनि महिलाको जीवनस्तरमा कुनै परिवर्तन नआएको बताए ।
कार्यक्रममा विश्व नारी सम्मेलनका युरोपेली संयोजक हलिम्का अगुष्ठिनले युरोपेली नारीहरुले सङ्कलन गरेको २१ हजार २९६.८६ युरो दोलखाको मागापौवास्थित मागापौआ माध्यमिक विद्यालय निर्माण गर्न हस्तान्तरण गरे ।
सम्मेलन तयारी गर्न केही दिनदेखि विश्वका विभिन्न मुलुकका विश्व नारी सम्मेलनका संयोजक काठमाडौँमा रहेका छन् । विश्वका ६० मुलुकका महिला प्रतिनिधिले सम्मेलनमा भाग लिने छन् । सन् २०११ मा क्याराकसमा भएको प्रथम विश्व नारी सम्मेलनमा विश्वका ४३ मुलुकका तीन हजार ५०० महिलाले भाग लिएका थिए ।

प्रतिक्रियाहरु