तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न

२०७२ भाद्र २८ गते, सोमबार

काठमाडौ २८ भदौ । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ४० प्रतिशत पूरा भएको छ ।पर्वत जिल्लामा मनाङ टेड लिङ्कले निर्माण गरिरहेको २० मेघावाट क्षमताको उक्त आयोजनाको २०६९ साउनदेखि निर्माण कार्य सुरु भएको थियो । आयोजनाको सुरुङ निर्माण कार्य ५७ प्रतिशतभन्दा बढी सकिएको छ । चार किलोमिटर लामो मुख्य सुरुङ मार्गको ५७ प्रतिशतभन्दा बढी काम सकिएको छ । मुख्य सुरुङको चार हजार २४ मिटरमध्ये हालसम्म दुई हजार ३ सय १० मिटर खनिसकिएको छ ।
कमजोर भूभाग भएकाले फेज २ र ३ मा भने सोचेअनुसार काम हुन सकेको छैन । उक्त स्थानमा ठूलो मात्रामा कमेरे माटोको सतह भएकाले सुरुङ निर्माण कार्य ढिलो र खर्चिलो भएको आयोजनाले जनाएको छ ।
आयोजनाले सुरुङ र सिभिल निर्माणका लागि गएको फागुनदेखि ठेकेदारलाई जिम्मा दिएका कारण कामले गति लिएको छ । हालसम्म आयोजनाको ४० प्रतिशत काम सकिएको र दसैँपछि निर्माण कार्यलाई अझै तीव्र बनाउँदै एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना प्रमुख पवनकुमार यादवले बताए ।
पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवा र दुर्लुङ तथा तिलाहार, बाजुङ तथा देउपुर गाविसमा निर्माण भइरहेको आयोजनाको निर्माण कार्य २०७३ असोज सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
करिब रु तीन अर्ब ५१ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो भने २०६९ साउनदेखि निर्माण कार्य थालेको थियो ।
आयोजनामा ७५ प्रतिशत कर्जा र बाँकी २५ प्रतिशत स्वपुँजी लगानी हुने बताइएको छ । यो विद्युत् आयोजनामा नेपाल सनराइज, ग्रान्ड, सिद्धार्थ, नेपाल क्रेडिट एन्ड कमर्स, कमर्ज एन्ड ट्रस्ट, मेगा र ग्लोबल आइएमइ बैंकले लगानी गर्नेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार