झारल सिकारको नौ लाख

२०७२ भाद्र २६ गते, शनिबार

काठमाडौं, २६ भदौ । ढोरपाटन सिकार आरक्षमा सिकारको राजस्व बढेको छ । गत वर्षको तुलनामा यो वर्ष झारल सिकारमा तीन लाख रुपैयाँ राजस्व बढेको हो । विदेशी सिकारीले यो वर्षको पहिलो सिकार याममा नौ लाख ३१ हजार रुपैयाँ तिरेर एउटा झारलको सिकार गर्नेछन् । आरक्षमा झारल सिकार विदशी सिकारीको पहिलो रोजाइमा पर्ने गरेको छ ।
सिकार एजेन्सीबीचको बढ्दो प्रतिस्पर्धाले सिकारको दर बर्सेनि बढ्दै गएको आरक्ष कार्यालयले जनाएको छ । अघिल्लो वर्ष सिकारीले रु छ लाख २६ हजारमा झारलको सिकार अनुमति पाएका थिए । झारल नाउरभन्दा आकर्षक भएको र भिर पहारामा खेल्ने भएकाले सिकारी झारलको सिकार गर्न बढी रोमाञ्चक अनुभव गर्ने गरेका छन् ।
आउँदो असोजदेखि मङ्सिरसम्म चल्ने सिकारको पहिलो यामका लागि ६ झारल र १३ नाउरको सिकार अनुमति दिइएको कार्यालयका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो । “सिकारी पठाउने एजेन्सीबीचमा प्रतिस्पर्धा छ, विद्युतीय बोलपत्रबाट सिकारी पठाउने एजेन्सी छानिने गर्छन्”, अधिकृत श्रेष्ठले भन्नुभयो, “सिकारी पनि सिकारमा जान बढी आकर्षित हुने भएकाले राजस्वको दर पनि बढ्दै गएको छ ।”
आरक्ष क्षेत्रमा झारलको सङ्ख्या कम भएकाले बर्सेनि सिकारका लागि कम कोटा छुट्याउने गरिएको छ । आरक्षमा प्रत्येक वर्षको असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई सिकार यामका लागि सिकार खुल्ला हुने गरेको छ । वन्यजन्तु विभागले सिकारका लागि आह्वान गरेको विद्युतीय बोलपत्रबाट नेपाल वाइल्ड लाइफ एडभेन्चर प्रा.लि., हिमालयन सफारी प्रा.लि., ट्र्याक एन्ड टे«ल्स, नेपाल वाइल्ड लाइफ सफारी र ग्लोबल सफारीले सिकारी पठाउन स्वीकृति पाएका छन् ।
सिकार अनुमति पाउनेमा बढी युरोपियन देश र अमेरिकाका सिकारी रहेको अधिकृत श्रेष्ठले बताउनुभयो । विदेशबाट आउने तालिमप्राप्त सिकारी हप्तौँ दिन आरक्षमा रहेका ‘सिकार ब्लक’ बसी सिकारमा रमाउने गरेका छन् । बर्सेनि विभागले २६ नाउर र ११ झारलका लागि सिकार अनुमति प्रदान गर्ने गरेको छ । अन्य वन्यजन्तु, चरा पनि सिकार गर्न पाउने व्यवस्था भए पनि सिकारी झारल र नाउरको सिकारका लागि ढोरपाटन पुग्ने गर्छन् ।
नाउरको सिकार गरेबापत सिकारीले न्यूनतम रु एक लाख २५ हजारदेखि अधिकतम तीन लाख ३० हजारसम्म राजस्व बुझाउने गरेका छन् । यो वर्षको पहिलो याममा सिकार अनुमति पाएका सिकार एजेन्सीले आगामी असोज १९ गतेदेखि सिकारी आरक्षमा पठाउनेछन् । आरक्ष क्षेत्रमा रहेको सात सिकार ‘ब्लक’मध्ये सुर्तिवाङ ‘ब्लक’ मा नाउर र झारल दुर्लभ भएकोले सिकारमा रोक लगाइएकोे छ ।
त्यस्तै सुनदह ‘ब्लक’ भौगोलिक हिसाबले अत्यन्तै विकट र टाढा भएकाले विगत केही वर्षयता सिकारी पुग्न नसकेको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । फागुन–वैशाखमा चल्ने दोस्रो सिकार याममा १३ नाउर र पाँच झारलका लागि सिकारका लागि अनुमति दिइनेछ । सिकारबाट मात्रै वार्षिक करोडभन्दा बढी राजस्व सङ्कलन हुने गरेको छ । रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार