शवयात्रामा हजारौंको सहभागिता

२०७२ भाद्र १९ गते, शनिबार

काठमाडौं, १९ भदौ । गतसोमबार र मंगलबारको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुको आज शव यात्रा निकालिएको छ ।
प्रहरीको गोलीबाट वीरगन्जको जगरनाथपुर मनियारीका दिलिप चौरसिया, भवानीपुरका धर्मराज सिंह, नगवाका सोहन साह कलवार, बाराको प्रसौनी–८ नौतन बहुअरीका भोला प्रसाद तेली र दिनानाथ साह गोढको मृत्यु भएको थियो । नारायणी उपक्षेत्रीय अस्पताल परिसरबाट मृतक पाँच जनाको शव पाँच वटा गाडीमा राखेर निस्किएको शव यात्रा आदर्शननगर, माइस्थान र घण्टाघर हुदै अहिले नगवातर्फ प्रस्थान गरेको छ ।
नगवास्थित मृतक सोहन साह कलवारको घरमा पुगेर शव यात्रा बाइपास हुँदै बाराको नौतन बहुअरी पुग्ने छ । प्रहरीको गोली लागेर नौतन बहुहरीका दिनानाथ साह गोढ र भोला साह तेलीको मृत्यु भएको थियो । नौतन बहुअरीबाट शव यात्रा अर्का मृतक दिलीप चौरसीयाको घर वीरगन्जको जगरनाथपुर मनियारी पुगेर त्यहाबाट बिन्द्यावासीनीस्थित तिलेवो नदीमा जानेछ । तिलवो नदीमै सबै शवको सामूहिक दाहसंस्कार गरिने छ । शवयात्रामा दश हजार भन्दा बढीको सहभागिता छ । शवयात्रामा सहभागी हुन पर्सा र बाराको ग्रामीण क्षेत्रबाट पनि सर्वसाधरण वीरगन्ज आएका छन् । शवयात्रामा सहभागीले सरकार र तीन ठूला दलकाविरुद्ध चर्को नाराबाजी पनि गरिरहेका छन् । शव यात्रामा तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष लालबाबु राउत गद्धी, पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव र सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुद्धिन समानी लगायतका नेता पनि सहभागी छन् ।
स्थानीय प्रशासनले शुक्रबार मृतकहरुलाई शहिद घोषणका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेपछि शवको अन्त्येष्टि गर्न मृतकका आफन्त र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु सहमत भएका हुन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी केवशराज घिमिरेको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मृतक सबैलाई शहिद घोषणा, परिवारलाई राहत र घाइतेहरुको उपचार खर्चका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने निर्णय थियोे ।
वीरगन्ज नगरक्षेत्रमा शनिवार बिहानैदेखि कतै पनि सुरक्षाकर्मी देखिएका छैनन् । शव यात्रालाई मध्यनजर गर्दै वीरगन्जमा शनिबार बिहान ९ बजे देखि दिउँसो २ बजे सम्मका लागि कफ्र्यू हटाइएको छ । जिल्ला सुरक्षा समितिको बिहान बसेको बैठकले विहान ९ बजे देखि दिउँसो १२ बजे सम्म पाँच घण्टाका लागि मात्रै कफ्र्यू हटाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
आज कृष्ण जन्माष्टमी पनि परेकोले उक्त पर्वलाई पनि मध्य नजर गर्दै शनिवार पाँच घण्टाका लागि मात्र कफ्र्यू हटाइएको हो । दिउँसो २ बजेपछि पुनः कफ्र्यू जारी रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु