४५ वर्षपछि लाय्कू भैरव नाच

२०७२ भाद्र १५ गते, मंगलवार

काठमाडाैँ, १५ भदाै । मल्लकालभन्दा अघिदेखि सञ्चालन भएर रोकिएको मध्यपुरथिमिमा नचाइने लाय्कू भैरव नाच ४५ वर्षपछि फेरि सुरु भएको छ ।
विगत तीन वर्षदेखिको स्थानीय युवाको प्रयास, अध्ययन र अनुसन्धानपछि गएरातिदेखि नाचको मञ्चन सुरु गरिएको हो । यस नाचको तान्त्रिक पक्ष पत्ता लगाउन ती युवाले अध्ययन गरेका थिए ।
गाईजात्राको भोलिपल्टको राति अर्थात् गएराति ८ बजे थिमिको लाय्कू दरबारबाट सुरु भएको भैरव नाच चार रात निरन्तर मध्यपुरथिमिको विभिन्न क्षेत्रमा नचाइने र बिहीबार बिहान सम्पन्न गरिने जात्राका सहयोगी हरिसुन्दर श्रेष्ठले बताउनुभयो ।
साक्षात् भैरव प्रकट हुने विश्वास गरिएको भैरव नाच हेर्न थिमिको लाय्कूदेखि बालकुमारी र चोकचोकमा राति ८ बजेदेखि रातभरि हजाराँैको भीड लागेको थियो ।
लाय्कू दरबारबाट सुरु गरिएको यो नाच लाय्कू अगाडिको भैरव मन्दिर, गणेश मन्दिरको परिक्रमासँगै बालकुमारी मन्दिर अगाडि दुई घन्टाभन्दा बढी नचाइएको थियो ।
त्यसपछि इनायटोल, दिगुटोल, हात्ती महाँकाल, भूलांखेल, चपाचो, गुङ्चिवा (नौ वटा चैत्य) भएको ठाउँको परिक्रमा गर्दै नृत्य टोली आज बिहान पुनः लाय्कू आएको थियो ।
दुईरात निरन्तर यही टोलमा नाच प्रदर्शन गर्नुपर्ने र त्यसपछि थिमिको विभिन्न टोलमा जहाँ सगुन दिएर निम्ता गरिएको हुन्छ, ती टोलमा र घरमा नाच प्रदर्शन गरिने नाचका वाद्य गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
मल्लकाल अघिदेखि नै नाच प्रचलनमा आएको अनुमान गर्दै गुरु श्रेष्ठले भन्नुभयोे, “मल्लकालीन वंशावलीमा मदयेका मगाःगु अर्थात् नभई नहुने भनेर उल्लेख गरिएको नाचमा भैरव दुई जना, कुमारी अर्थात् दाँगी दुई जना, ज्यापुंग एक जनाले देवताको मुकुन्डो धारण गरेर नाच प्रदशन गर्ने गरिन्छ ।”
यस वर्ष नाचमा भैरवका रुपमा उज्ज्वल श्रेष्ठ र रुपेश श्रेष्ठ, कुमारीका रुपमा बुद्धिकृष्ण श्रेष्ठ र सुवर्ण श्रेष्ठ तथा ज्यापुंगका रुपमा ११ वर्षका सुशील श्रेष्ठले सहभागी हुनुहुन्छ ।
वाद्यवादनमा १२ जना, दाग बाजामा १२ जना, भुस्या बाजामा आठ जना, प्वंगा बाजामा आठ जना, मुवाली बाजामा चार जना र प्रत्येक देवताको सहयोगीसमेत गरेर ६८ जनाको नृत्य टोली बनाइएको छ ।
बाद्य एवम् भैरव नाचका गुरु नीरञ्जन श्रेष्ठले आफू जन्मनुअघि नै लोप भइसकेको नाच चलाउन आफूहरुले विगत तीन वर्षदेखि अध्ययन अनुसन्धान गरी नाचको तान्त्रिक विद्याको खोजी गरेर लिखित तान्त्रिक विद्या भेटाएपछि यस वर्षदेखि नाच सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “४५ वर्षअघि भैरव नाच सञ्चालन गरेका गुरुलाई भेटेर नाचका बारेमा सबै जानकारी लिएपछि नाच सञ्चालन गर्न हराएको तान्त्रिक विद्याको खोजी गर्ने क्रममा स्थानीय एक जनाका घरमा पोको पारेर राखिएको अवस्थामा नाचको तान्त्रिक विद्या फेला प¥यो र त्यही विद्यालाई जगाएर नाच सञ्चालनमा ल्याएका हौँ ।”
भैरव नाचमा क्रोध तान्त्रिक विद्याबाट मुकुन्डो लगाएर भैरव, कुमारी भएर नाच्ने देवी देवताको शरीरमा भगवान्को प्रवेश हुने विश्वास रहेको छ । गुरु श्रेष्ठले भन्नुभयो, “यो कुनै नाटकीय प्रस्तुति होइन, क्रोध तान्त्रिक विद्याको शक्तिले देवता बन्नेको शरीरमा भगवान्को प्रवेश हुन्छ, त्यसपछि उनीहरु निरन्तर रातभरि नाच्ने गर्दछन्, भगवान् प्रवेश हुँदा देवता बन्ने निकै काम्ने गर्दछ ।”
आफ्नो घरभित्र भैरव नाच प्रवेश गराउन पाए भूतप्रेत र अनिष्ट सबै हटेर जान्छ भन्ने आम विश्वास रहेकाले नाचलाई टोल र घरघरमा लैजान सगुन दिएर धेरैले निम्तो गरेका छन् । अडचालीस वर्षअघि भैरव भएर नाचेका गुरु ८९ वर्षका मुटिकुमार श्रेष्ठले नाचमा खर्च बढ्दै गएको, विधि विधान हराउँदै गएको र केही गुरुको समेत मृत्यु भएपछि नाच रोकिएको बताउनुभयो ।
भूतप्रेतले थिमिमा निकै दुःख दिएपछि भैरव नाच चलाउन थालेको भन्ने किंवदन्ती रहेको बताउँदै उहाँले भन्नुभयो, “परापूर्वकालमा थिमिको बालकुमारी ओरालोको ढोकासम्म हरेक दिन मानिस खान भूत आएर तर्साउने गथ्र्यो, त्यसको सुराकी भ्यागुतोले दिने गथ्र्यो, त्यसपछि तान्त्रिकले भैरवलाई जगाएर भैरव नाच निकालेपछि भूतप्रेत भागे र थिमिमा भूत आउन छाड्यो ।”
आफू भैरव भएर नाचेकाले आफूलाई भूचप्रेतले छुनै नसक्ने दाबी गर्दै मुटिकुमारले भन्नुभयो, “मैले पहिला भूत बस्छ भनेर अरु डराउने ठाउँमै घर बनाएर बसेको छु, केही भएको छैन, हामीमा भगवान्को शक्ति हुन्छ ।”
भैरव नाच सञ्चालन गर्न यस वर्ष रु २४ लाख खर्च भएको नाच सञ्चालकले बताएका छन् । गुरु श्रेष्ठका अनुसार नाच सञ्चालनका लागि सामान खरिद गर्न र पूजा खर्चमात्रै रु १२ लाख भएको र भोजका लागि थप रु १२ लाख लागेको छ ।
नाच सञ्चालनमा ४८ वर्षअघि सरकारले रु ५० सहयोग गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । यस वर्ष मध्यपुर थिमिका बासिन्दा र सहकारी संस्थाबाटै आएको सहयोगबाट नाच सञ्चालन गरिएको हो । नाच सञ्चालनमा सहयोग गर्न मध्यपुर थिमिका बासिन्दाले पनि सरकारसँग माग गरेका छन् । – रासस

प्रतिक्रियाहरु