भारदहमा बुधबार विहान ५ बजेसम्म कर्फ्यू

२०७२ भाद्र १ गते, मंगलवार

काठमाडौं , १ भदौं । मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरीको भारदहमा मंगलबार गरेको प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।भारदहमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा स्थानीय राजीव राउतको मृत्यु भएको छ । उनको मृत्युपछि थप झडप हुनसक्ने भन्दै स्थानीय प्रशासनले मंगलबार अपरान्ह ४ बजेदेखि बुधबार विहान ५ बजेसम्म भारदह क्षेत्रमा कर्फ्यु लगाएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले भारदह क्षेत्रको चार किल्ला क्षेत्रमा धर्ना, जुलुस, भेला, र्‍याली वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएकोसप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए ।
भारदहको पूर्वमा कंकालनी मन्दिरदेखि ५०० मिटर, पश्चिममा भारदह टेम्पु स्ट्यान्डदेखि ५०० मिटर, उत्तरमा पोर्ताहाको गाविस भवन हटिया लाग्ने स्थानसम्म र दक्षिणमा सखरदही नहरपुलदेखि ३०० मिटरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
सो क्षेत्रका बासिन्दालाई घरबाहिर ननिस्कन, सवारी साधन नचलाउन र बाहिर हिँडडुल नगर्न भनिएको छ । सो अवधिमा अत्यावश्यक सेवाका सवारी साधन चलाउनु परेमा वा घरबाहिर निस्कनु परेमा सुरक्षा निकायसँग अनुमतिपत्र लिन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु