६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

२०७२ असार ३० गते, बुधबार

काठमाडौं, ३० असार ।सरकारले आगामी आवमा पुनःनिर्माणका काममा सार्वजनिक र निजी क्षेत्रबाट पर्याप्त लगानी जुटाई आर्थिक गतिविधिमा बढोत्तरी गर्दै ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरेको छ ।
अर्थमन्त्री डा रामशरण महतले मंगलबार व्यवस्थापिका–संसदमा आगामी आर्थिक वर्षका लागि वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै मौद्रिक र प्रशासनिक उपायबाट मुद्रास्फीतिलाई नियन्त्रण गरिने बताउनुभयो ।
खाद्यान्न उत्पादन र भूकम्पपछिको तीन महिनामा आर्थिक क्रियाकलापमा आएको कमी र उद्योग र सेवा क्षेत्रमा परेको प्रतिकूल प्रभावका कारण चालु आर्थिक वर्षमा ३.०४ प्रतिशतमा आर्थिक वृद्धि सीमित हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा सात प्रतिशतभन्दा कमको मुद्रास्फीति हुने भनिए पनि भूकम्पपछि ७.४ प्रतिशत पुगेको छ । चालु आवमा ६ खर्ब १८ अर्ब १० करोड विनियोजन गरिएकामा पाँच खर्ब २२ अर्ब ६८ करोड मात्र खर्च हुने संशोधित अनुमान गरिएको छ । सोमध्ये चालु खर्चतर्फ तीन खर्ब ३९ अर्ब २४ करोड, पुँजीगततर्फ ८६ अर्ब ५८ करोड र वित्तीय व्यवस्थातर्फ ९६ अर्ब ८६ करोड खर्च हुने अनुमान गरिएको छ ।
कुल चार खर्ब २२ अर्ब ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा ९३ प्रतिशत मात्र पूरा हुने संशोधित अनुमान गरिएको छ । त्यसैगरी अनुदानतर्फ ७३ अर्ब ३८ करोड र ऋणतर्फ ४९ अर्ब ७३ करोड गरी एक अर्ब २३ अर्ब ११ करोड वैदेशिक सहायता प्राप्त हुने अनुमान गरिएकामा अनुदानतर्फ ३७ अर्ब ७३ करोड र ऋणतर्फ २५ अर्ब ४८ करोड प्राप्त हुने अनुमान छ ।
चालु आवको ११ महिनामा अन्तर्राष्ट्रिय व्यापारघाटा ६ खर्ब १२ अर्ब ८७ करोड पुगे पनि विप्रेषण आप्रवाह र वैदेशिक परिचालनमा भएको वृद्धिले शोधनान्तर स्थितिमा एक खर्ब २७ अर्ब २० करोड बचत रहेको बजेटमा उल्लेख छ ।
चालु आर्थिक वर्षको ११ महिनामा आठ खर्ब नौ अर्ब ४८ करोड बराबरको विदेशी विनिमय सञ्चितीबाट १३.१ महिनाको वस्तु र ११.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुनेछ । भूकम्पपछि पनि पुँजी बजारको सूचक नेप्से परिसूचक ९०० भन्दा माथि रहेको छ ।
अर्थमन्त्रीले खर्च व्यवस्थापनका लागि आन्तरिक स्रोत परिचालनमा सफल भएको तथा सार्वजनिक खर्च व्यवस्थापनमा सुधार र सामाजिक परिसूचकमा उल्लेखनीय सुधार भएको बताउनुभयो ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु