ट्राफिक कारबाहीबाट ४२ लाख राजस्व सङ्कलन

२०७२ असार २८ गते, सोमबार

काठमाडौँ, २८ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सवारी नियम उल्लङ्घन गर्ने १३ हजार दुर्इ सय ५० सवारीसाधनबाट एक वर्षमा ४२ लाख रूपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिकले चालु आवको साउनदेखि असारसम्ममा सवारीसाधनलाई कारबाही गरी ४२ लाख २६ हजार ९ सय ८० रूपैयाँ राजस्व सङ्कलन गरेको हो ।
विगतको तुलनामा यस वर्ष सबैभन्दा बढी राजस्व सङ्कलन भएको ट्राफिकले जनाएको छ । आव २०६८/०६९ मा सात लाख ३१ हजार तीन सय ५० रूपैयाँ, आव २०६९/०७० मा १२ लाख ४६ हजार ५० रूपैयाँ र गत आवमा २४ लाख ४२ हजार पाँच सय रूपैयाँ राजस्व सङ्कलन भएको थियो । राजमार्गमा नियमविपरीत चलेका सवारीसाधनमाथि नियमित जाँच गर्न थालेपछि राजस्व सङ्कलन बढेको हो ।
चालु आवमै मापसे गरी सवारी चलाउने एक सय ५० भन्दा बढी चालकबाट डेढ लाख रूपैयाँ थप राजस्व सङ्कलन गरेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिए । बिना लाइसेन्स, क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुबाहकमा सामान ओसारे, बिना कागजात सवारी चलाएमा एक हजार रूपैयाँ जरिवाना गर्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु