संविधानको मस्यौदामाथि सुझाव लिन प्रश्नकर्ता खटिंदै

२०७२ असार २५ गते, शुक्रबार

काठमाडौं, २५ असार । संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिकको सुझाव लिन शुक्रबारदेखि जिल्लाजिल्लामा प्रश्नकर्ता खटिंदैछन् । साउन ७ गतेभित्र प्रतिवेदन पेस गर्ने तयारीका साथ संविधानसभा सचिवालयले प्रश्नकर्तालाई खटाउन लागेको हो । सभासदहरु भने साउन लागेपछि जिल्ला जानेछन् । संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले ७५ जिल्ला र २ सय ४० निर्वाचन क्षेत्रमा संविधानको पहिलो मस्यौदाबारे सार्वजनिक सुनुवाइमार्फत सुझाव लिने भएको छ । हरेक जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चालन हुने कार्यक्रमका सम्बन्धमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको समन्वय र सहकार्यमा जिविस, नगरपालिका र गाविसमा मस्यौदा उपलब्ध गराउने र सुझाव सङ्कलन गरिनेछ ।
समितिले तयार पारेको कार्ययोजनाअनुसार भोलिदेखि २९ गतेसम्म संविधानको विधेयकको पहिलो मस्यौदामाथि अन्तरक्रियात्मक गोष्ठी हुनेछन् । संविधानसभा सचिवालयले त्यसका लागि आवश्यक व्यवस्था मिलाएको जनाएको छ । इमेल र टेलिफोनमार्फत पनि मस्यौदा पढ्न र सुझाव दिन सकिनेछ । सुझावका लागि संविधानसभा सचिवालयको वेबसाइट www.can.gov.gov.np/draft मा पढ्न र हेर्न सकिनेछ भने इमेल comt.crcs@gmail.com मा इमेल गर्न सकिनेछ । स्वदेश तथा विदेशमा रहेका नागरिकले विद्युतीय माध्यमबाट सुझाव दिन सक्नेछन् ।
मस्यौदामा चित्त नबुझेका विषयमा नागरिकले पोष्ट बक्स नं २००९९, फ्याक्स नं ४२००१९४, ४२०००५३, ४२००१४१ र पैसा नलाग्ने टोल फ्री नं १६६००१२२३४४ मा फोन गरेर आफूलाई लागेको सुझाव दिन सक्ने संविधानसभा सचिवालयले जनाएको छ । आउँदो साउन ७ गते जनताको राय सुझाव वा प्रतिक्रिया समावेश गरी अन्तिम प्रतिवेदन तयार गरी संविधानसभामा प्रस्तुत गर्ने कार्यतालिका छ ।

प्रतिक्रियाहरु