गड्यौला र चराका कारण विमानस्थल अवरुद्ध

२०७२ असार १६ गते, बुधबार

काठमाडौ, १६ असार । अन्तर्राष्ट्रिय विमानस्थल आज गड्यौला र चराले गर्दा अवरुद्ध हुन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अपरान्ह ४ बजेतिर काग र चिलहरुको हुल आएपछि करिब आधा घण्टा विमानको अवतरण र उडान अवरुद्ध हुन पुगेको हो । विमानस्थलका एटिसी चिफ भरत शर्माले पानी परेर रनवे क्षेत्रमा देखिएको गड्यौला टिप्न चराको हुल आएकोले केहीबेर समस्या भएको बताएका छन् । फायर बिग्रेडबाट पानी फालेर रन वेबाट गड्यौला हटाउनु परेको थियो । ‘गड्यौला सफा भएपछि चराहरु पनि कम भए,’ शर्माले भने-‘करिब आधा घण्टा विमानस्थल अवरुद्ध हुन पुग्यो ।’ उनका अनुसार त्यस अवधिमा २ वटा डोमेस्टिक विमान यहाँ अवतरण हुन नसकेर डाइभर्ट गराइएको थियो भने ३ वटा अन्तर्राष्ट्रिय विमानको उडान र अवतरणमा ढिलाई हुन पुग्यो । चरा कुनै विमानमा ठोक्किएको बारे जानकारी नभएको उनले बताए ।

प्रतिक्रियाहरु