घ्याङफेदी पहिरोको उच्च जोखिममा

२०७२ असार १३ गते, आईतवार

काठमाडौं, १३ असार । नुवाकोटको सुदूर पूर्वमा रहेको घ्याङफेदी गाउँ विकास समितिका सबै वडा लगातार परेको पानीका कारण पहिरोको चपेटमा परेको छ ।
गत वैशाख १२ को भूकम्प र त्यसपछि आएका पराकम्पनबाट चिराचिरा भएको डाँडाहरुमा लगातारको पानी पस्दा पहिरो जान थालेको हो । निकै अग्ला र भिरालो पहाडको टुप्पा र फेदीमा रहेका वस्तीहरु पहिरो खस्न थालेपछि जोखिममा परेका हुन् । ८० भन्दा बढी स्थानमा पहिरो खसेको स्थानीय रञ्जमान तामाङले जानकारी दिएका छन् ।
भूकम्पले चिरिएका जमिन र सुख्खा पहिरोले त्रसित बनेका घ्याङफेदी गाविसका वासिन्दाले यसअघि नै आफूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका थिए । गाविसका सबै मानिसले आफूहरुलाई सुरक्षित स्थानमा लैजान आग्रह गर्दा पनि सरकारी निकायबाट भौगोलिक अवस्था बुझ्न कोही नगएको त्यहाँका स्थानीयले बताएका छन् ।पहिरोको घेराबन्दीमा परेका घ्याङफेदीबासीले गत बैशाख १२ गतेको भूकम्पमा एकै झट्कामा करिब ९० जना आफन्त गुमाएका थिए ।माथि हेरे पनि पहिरोकै डर, तल हेरेपनि पहिरोकै खतरामा रहेका अधिकांश घ्याङफेदीवासी त्रिपाल र जस्तापाताको अस्थायी आवासमा जीवन गुजारा गर्दै छन् ।

प्रतिक्रियाहरु