चीनमा कुकुरको मासु खाने पर्व

२०७२ असार ८ गते, मंगलवार

काठमाडौँ । चीनमा विवादबीच कुकुरको मासु खाने पर्व शुरु भएको छ । पशुअधिकारकर्मीहरुको विरोधका बीच दक्षिण पश्चिम चीनमा वार्षिकरुपमा आयोजना गरिने कुकुरको मासु खाने पर्व शुरु भएको छ । चीनको ग्वाङ्सी प्रान्तको युलिनमा हरेक वर्ष आयोजना गरिने यस ‘लिची एण्ड डट मिट’ पर्वमा १० हजारभन्दा बढी कुकुरहरु मारिने चिनियाँ मिडियाहरुले बताएका हुन् ।
यो पर्वमा अमानवीय तरिकाले पशुबध गरिने भन्दै अधिकारकर्मीहरुले विरोध र्याली निकाल्नका साथै अनलाइन क्याम्पेनिङदेखि लिएर कुकुहरु बचाउन आफै किन्न थालेका थिए । अनलाइन क्याम्पेनमा ३८ लाखभन्दा बढीले समर्थन जनाइसकेका छन् । तर, युलिनका वासिन्दा र व्यापारीहरुले भने कुकुरहरुलाई अमानवीय तरिकाले नमारिने दाबी गर्छन् । चिनियाँ मिडियाका अनुसार चीनमा यो पर्व केही वर्षअघि देखि मात्र शुरु भएको हो । यद्यपि, चीनलगायत दक्षिण कोरिया र अन्य देशमा कुकुरको मासु खाने चलन सयौं वर्षअघि देखि चल्दै आएको छ ।
सिन्ह्वाका अनुसार कुकुरको मासुले गर्मी मौसममा शीतलता प्रदान गर्ने उनीहरु विश्वास गर्छन् । यस पर्वबाट युलिन शहरका अधिकारीहरु भने टाढै रहेका छन् । माइक्रोब्लगिङ साइट चलाउने सिना वेबो लेख्छिन्, ‘गर्मीको मौसममा आयोजनाहरु यस पर्वमा युलिनका वासिन्दाहरु लिची र कुकुरको मासु खाने गर्छन् ।’ केही पशुप्रेमीहरुले कुकुरहरुलाई बचाउन उनीहरु किनेका पनि छन् ।
स्थानीय मिडियाका अनुसार याङ सियाउन नाम गरेका व्यक्तिले एक सयवटा कुकुरलाई बचाउन शनिबार ७ हजार युवान तिरेका छन् । याङले मासु व्यापारीहरुसँग कुकुर किने एउटा अस्थायी वासस्थानमा लगेर राखेका थिए । बिबिसीका सिलिया हाटनका अनुसार यस पर्वका कारण विदेशी मिडियामा नकारत्मक टिप्पणी आएकोमा चिनियाँ अधिकारीहरु निकै गम्भिर रहेका छन् । त्यस्तै यस विरुद्ध अभियान चलाउने पशुअधिकारकर्मीहरुको बारेमा पनि चाँसो लिइरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु