पूर्व मन्त्री तथा राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको निधन

२०७२ जेष्ठ २७ गते, बुधबार

काठमाडौं , २७ जेठ । पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता पद्मसुन्दर लावतीको आज बिहान राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। लावतीको निधन भएको उनकी बुहारी एवम् सभासद् बबिना लावती मोक्तानले जानकारी दिइन् । लावती मृगौलासम्बन्धी रोगका साथै रक्त अल्पता र श्वासप्रश्वास लगायतका समस्यावाट ग्रसित थिए । मृगौलासम्बन्धी समस्याका कारण गत २३ जेठमा नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । १९९६ साउन ७ गते जन्मिएका लावती राप्रपा नेपालका समानान्तर अध्यक्ष हुन्। लावती पञ्चायतमा पटक–पटक र प्रजातन्त्र पुनस्र्थापना पछि पनि मन्त्री भएका राजावादी नेता मानिन्छन्। उनी जिल्ला पञ्चायत सदस्य हुँदै ०२८ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका लावती२०१९ सालमा पहिलो पटक प्रधानपञ्च भएका थिए। उनी दुई कार्यकाल प्रधानपञ्च भए।
२०२९ सालमा उद्योग वाणिज्य सहायक मन्त्री, २०३४ सालमा पूर्ण अधिकार सहितको स्वास्थ्य राज्यमन्त्री, उद्योग र सञ्चार मन्त्री, ०३८ सालको चुनाव जितेर गृह र सामान्य प्रशासन मन्त्री भएका लावती ०४३ सालमा फेरि राष्ट्रिय पञ्चायत सदस्य जितेर ०४५ सालमा भूमिसुधार मन्त्री बनेका थिए। अमेरिकामा रहेका उनका जेठा छोरा महेन्द्र लावती र क्यानाडामा रहेका माइला छोरा सुरेन्द्र सुन्दर लावती नेपाल आउँदैछन्।

प्रतिक्रियाहरु