फिफा अध्यक्ष ब्लाटर राजिनामा दिदै

२०७२ जेष्ठ २० गते, बुधबार

काठमाडौं,२० जेठ । विश्व फुटबल महासंघ फिफा अध्यक्ष सेप ब्लाटरले पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।ब्लाटरले फिफा पदाधिकारीहरुमाथि अमेरिकी तथा स्विस निकायमा भइरहेको छानविनमा सहयोग गर्न आफ्नो बहीर्गमनको घोषणा गरेका हुन् ।रिक्त हुने फिफा अध्यक्ष पदको नयाँ निर्वाचनको लागि अर्को वर्ष मे १३ तारिखमा मेक्सीको सिटीमा विशेष साधारणसभा बोलाइएको छ ।उक्त साधारणसभाले फिफाको नयाँ अध्यक्ष चयन गर्ने र उक्त अध्यक्षलाई फिफाका सबै सदस्य राष्ट्रले स्विकार गर्ने समेत ब्लाटरको विश्वास छ ।७९ वर्षीय स्विस नागरिक ब्लाटर अघिल्लो हप्ता मात्रै पाँचौ कार्यकालको लागि फिफा अध्यक्षमा निर्वाचित भएका थिए ।
तर यसको केही दिन पहिला फिफाका ७ जना वरिष्ठ पदाधिकारीहरु आर्थिक जालसाँझी र घुसखोरीको आरोपमा पक्राउ परेपछि ब्लाटरमाथि पद छाड्न ठुलो दबाब थियो ।
ब्लाटरले फिफाको विशेष साधारणसभा यसै वर्षको डिसेम्बरदेखि अर्को वर्ष मार्चसम्ममा बोलाउने चाहना भएपनि नयाँ उम्मेदवारहरुलाई पर्याप्त तयारीको समय दिन अर्को वर्ष मे १३ तारिखमा मात्रै साधारणसभा बोलाएको प्रष्ट पारेका छन् ।नयाँ कार्यकालको लागि चयन भएको ४ दिनपछि पद छाड्ने ब्लाटरको निर्णयलाई विश्व फुटबल समुदायले अनौठो भनी प्रतिक्रिया दिएका छन् ।
युरोपियन फुटबल महासंघ युएफाका अध्यक्ष मिचेल प्लाटिनी, इङ्गलिश फुटबल संघका अध्यक्ष ग्रेग डाइक, पोर्चुगलका फुटबल हस्ती लुईस फिगो लगायतले यसलाई सकारात्मक र आवश्यक कदम भनी टिप्पणी गरेका छन् ।
ब्लाटरले स्वेच्छाले पद त्यागेको बताएपनि जानकारहरुले भने अमेरिकामा मुद्दा चलाइएकाहरुमध्ये ब्लाटर पनि हुनसक्ने तथा फिफाका ठुला प्रायोजकहरुले दबाब दिएकोले ब्लाटर पछी हटेको अनुमान लगाएका छन् ।

प्रतिक्रियाहरु