कक्षा १२ को परीक्षा सुरु

२०७२ जेष्ठ २० गते, बुधबार

काठमाडौं ,२० जेठ । उच्च माध्यामिक शिक्षा परिषद्ले भूकम्पका कारण पछि सारेको कक्षा १२ को परीक्षा आजदेखि सुरु गरेको छ । परिषद्ले भूकम्पबाट अति प्रभावित बाहेक ६८ जिल्लामा परीक्षा सञ्चालन गरेको हो । परीक्षामा करिब साढे तीन लाख विद्यार्थी सहभागी हुँदैछन् । यसअघि सो परीक्षा गत वैशाख २० गतेदेखि तोकिएको थियो ।परीक्षाका लागि आठ सय ४६ परीक्षा केन्द्र र केन्द्राध्यक्ष, एक हजार ६९ सहायक केन्द्राध्यक्ष, नौ सय १३ जना पर्यवेक्षक, नौ हजार सात सय ६१ निरीक्षक, आठ सय ४६ कर्मचारी, एक हजार छ सय ९२ कार्यालय सहयोगी र १० हजार नौ सय ९८ जना सुरक्षाकर्मी खटिएको परिषदले जनाएको छ । परीक्षा जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षामा अपाङ्ता भएका परीक्षार्थीलाई कक्षा १० सम्म अध्ययन गरेका व्यक्तिबाट परीक्षा दिन सक्ने व्यवस्था मिलाइएको परिषद्का परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिए ।
भूकम्प अतिप्रभावित सात जिल्ला गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा भने पछि परीक्षा मिति तोकिने जनाइएको छ ।
परीक्षार्थीको स्वास्थ्यमा कुनै समस्या भएमा भक्तपुर, काठमाडाैं र ललितपुरका लागि चिकित्सकसहितको एम्बुलेन्स सेवा परिचालन गरिने परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए ।
परीक्षा केन्द्र भवनको भुँइतला र पहिलो तलामा मात्रै परीक्षा सञ्चालन हुनेछन् । कक्षा ११ को परीक्षा आगामी असार १ गतेदेखि १२ गतेसम्म हुँदैछ ।

प्रतिक्रियाहरु