बन्द रहेको विद्युत् गृह सुचारु

२०७२ जेष्ठ ९ गते, शनिबार

काठमाडौं, ९ जेठ । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि बन्द रहेको नुवाकोटको दुई जलविद्युत् केन्द्र र रसुवाको एक जलविद्युत् केन्द्र सञ्चालनमा आएको छ । नुवाकोटमा त्रिशूलीमा रहेको २१ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र र देविघाटमा रहेको १४ मेगावाटको देविघाट जलविद्युत् केन्द्र सामान्य मर्मतपछि सञ्चालनमा ल्याइएको हो ।
यसैगरी रसुवामा रहेको चिलिमे जलविद्युत् केन्द्रले पनि विद्युत् उत्पादन सुरु गरेको छ । एक्काइस मेगावाट क्षमता रहेको चिलिमे जलविद्युत् केन्द्रको सामान्य मर्मत सम्भारपछि ११ मेगावाट विद्युत् उत्पादन सुरु गरिएको हो ।
विद्युत् उत्पादन सुरु भए पनि गाउँका घरहरू लडेर पूर्ण क्षति भएको र ग्रामीण भेगमा विद्युतीय उपकरणका समस्या आएको कारणले गाउँमा अझै बिजुली बल्न सकेको छैन । गाउँमा खराब भएका विद्युतीय उपकरणको मर्मत कार्य भइरहेकाले अबको केही दिनमा नै बिजुली बाल्न सकिने नेपाल विद्युत् प्राधिकरण नुवाकोट शाखाले जनाएको छ । – रासस

प्रतिक्रियाहरु