६ महिनाका लागि पुग्ने खाद्यान्न भण्डारण गर्छौं : आपूर्तिमन्त्री

२०७२ जेष्ठ ८ गते, शुक्रबार

काठमाडौं, ८ जेठ । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले भूकम्प र त्यसपछि आउन सक्ने सम्भावित विपत्तिका बेला आपूर्ति व्यवस्था सहज पार्न आगामी छ महिनालाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा रहेको बताए ।रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले भूकम्पप्रभावित र सम्भावित बाढी पहिरो आउन सक्ने क्षेत्रलाई लक्षित गरेर खाद्यान्न भण्डारणको व्यवस्था गर्ने तयारीमा रहेको बताए । उनले पेट्रोलियम पदार्थको अभाव हुन नदिन मुख्यमुख्य स्थानमा सञ्चित गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको जानकारी दिए ।मन्त्री थापाले राजधानी भित्रिने पृथ्वी राजमार्ग अवरुद्ध भए बिपी राजमार्ग हुँदै पेट्रोलियम पदार्थ आयात गर्ने तयारी भइसकेको बताए । उनले साधन स्रोतको अभावले राहत वितरणमा केही कमजोरी भए पनि आगामी एक महिनाभित्र मङ्सिर÷पुससम्मलाई पुग्ने खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने दृढता व्यक्त गरे ।मन्त्री थापाले भूकम्प आउनुपूर्व नेपालसँग एक लाख ५० हजार क्विन्टल खाद्यान्न भण्डारण रहेकामा एक लाख क्विन्टल वितरण भइसकेको जानकारी दिए । उनले आगामी तीन महिनाको लागि भूकम्पपीडितलाई खाद्यान्न वितरण गर्न विश्व खाद्य सङ्गठनसँग सम्झौता हुन लागेको जानकारी दिए ।
आगामी दिनमा आउनसक्ने विपत्तिका बेला तत्काल खाद्यान्न सङ्कट हुन नदिन काठमाडाँैमा चार हजार र पूर्वको लहानमा दुई हजार मेट्रिक टन खाद्यान्न भण्डारण गर्न लागिएको उनले जानकारी दिए । यस्तै काठमाडौँसहित धेरै खुला स्थानमा १५ देखि २० परिवार अट्ने गरी सामुदायिक भवन निर्माण गर्ने तयारी भइरहेको भन्दै त्यस्तो भवन आगामी दिनमा विपत्ति आउँदासमेत आश्रय स्थल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रियाहरु