बस दुर्घटनामा १६ को मृत्यु, ६८ जना घाइते

२०७२ जेष्ठ ५ गते, मंगलवार

काठमाडाै‌, ५ जेठ । सोमबार मकवानपुर र डडेल्धुरामा भएको छुट्टाछुट्टै बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।
मकवानपुरको मनहरी गाउं विकास समिति वडा नम्बर ३ रमनटारमा बस र ट्रक जुध्दा ९ जनाको मृत्यु भएको छ ।६ जनाको घटनास्थलमै र तीन जनाको चितवनस्थित भरतपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बीरगञ्जबाट नारायणगढ आउंदै गरेको ना ५ ख ३६९७ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेमा चितवन बिरेन्द्रनगर–२ का योखा गुरुङ, नवलपरासीका मिसल गुरुङ, बारा कोल्बीका बैजनाथ चौधरी, बीरगञ्ज–३ का सातुमिया सेख, रसुवा कर्मथलीका बलराम भट्ट, भारत पूर्वी चम्पारणका असलम मियां, भारत बेतियाका बिभु साह र अर्घाखांचीका रामलाल भुषाल रहेका छन् । अझै एक जनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा ३३ जना घाइते भएका छन् । अधिकांश घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेर पल्टिएको उक्त बसमा बिपरित दिशाबाट आएको ना ४ ख ५७६२ नम्बरको ट्रक ठोक्किंदा घाइतेको संख्या बढेको प्रहरीले जनाएको छ । दुर्घटना पछि बस चालक भने फरार रहेका छन् । उता, डडेल्धुरामा पनि बस दुर्घटना हुंदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमध्ये डडेल्धुरा जोगबुडाकी राजमती धामी, गांखेतका डम्बर कामी र दार्चुला अपीकाकी परुलीदेवी धामी छन् ।
अन्यको सनाखत हुन सकेको छैन । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला जांदै गरेको ना ५ ख १६८५ नम्बरको बस हिजो सांझ डडेल्धुराको मेलखर्कमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुको कैलालीका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । अधिकांश घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करीव सय मिटर तल खसेकोे छ । सांधुरो र अफठ्यारो सडकको कारण दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रियाहरु