सिंगटीमा शव बुझ्ने आफन्त भएनन

२०७२ जेष्ठ ४ गते, सोमबार

काठमाडौं, ४ जेठ । दोलखाको उत्तरी १८ गाउं विकास समितिको केन्द्र सिंगटी बजार यतिबेला बिरानो बनेको छ ।बैशाख २९ गतेको शक्तिशाली भूकम्प पछि क्षत–विक्षत भएको सिंगटीमा भूकम्पबाट मृत्यु भएका मानिसको शव पहिचान गरेर बुझ्ने आफन्त समेत नहुंदा थप समस्यामा परेको छ ।
सिंगटीको बसपार्क क्षेत्रमा भूकम्पबाट पहिरो गई अझै धेरै मानिस पुरिएको आशंका उद्धार टोलीले गरेको छ ।
बैशाख २९ गतेको शक्तिशाली भूकम्पमा परी सिंगटी र आसपास क्षेत्रमा मात्र एक सय भन्दा बढीको मृत्यु भएको आशंका स्थानीयले गरेका छन् ।
भूकम्प पछि सिंगटी बसपार्क, भोर्ले र लादुकको सडकमा खसेको पहिरोबाट आज बिहानसम्म १० वटा शव नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको उद्धार टोलीले निकालेको बताइएको छ ।
बैशाख २९ गतेको तेस्रो शक्तिशाली भूकम्पमा सिंगटीबाट राहत लिएर फर्किएका चिलंखा गाविसका धेरै मानिसहरु परेको आशंका गरिएको छ ।
राहत लिएर ट्रकमा फर्किएका दुई सय बढी मानिसहरु मध्ये २१ जना घर फर्किएका, १३ जनाको घाईते अवस्थामा उद्धार गरिएको र अरु अहिले पनि हराईरहेको संघिय समाजवादी पार्टी दोलखाका सचिव सोनाम शेर्पाले जानकारी दिए ।
सिंगटीमा अहिले दुर्गन्ध फैलिएको र त्यसले अर्को महामारी निम्तन सक्ने खतारा बढेको उद्धार खटिएका प्रहरीले जनाएका छन् ।
बैशाख २९ गतेको भूकम्पको कारण दोलखामा मात्रै ८५ जनाको मृत्यु भैसकेको छ । त्यसमा आधाभन्दा बढी भीमेश्वर नगरपालिका र उत्तरी क्षेत्रको रहेको स्थानिय प्रशासनले जनाएको छ ।

प्रतिक्रियाहरु