थाइल्याण्ड नजिकको समुद्रमा हजारौं शरणार्थी फसेको आशंका

२०७२ बैशाख २९ गते, मंगलवार

काठमाडौं,२९ बैशाख । इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशन आइओएमले थाईल्याण्ड नजिकको समुद्रमा हजारौं शरणार्थी फसेको जनाएको छ ।
आईओएमका प्रमुख जेफ लेबोविट्जका अनुसार फसेका आठ हजार शरणार्थीको अवस्था दयनीय बनेको छ । बंगलादेशी शरणार्थी र म्यानमारका रोहिंग्या मुसलमानहरुलाई मानव तस्करहरुले थाइल्याण्ड ल्याइ बन्धक बनाउने गरेको लेबोविट्जको भनाइ छ ।
यसअधि हिजो मात्र गैरकानूनी रुपमा मलेसिया पुगेका १ हजार १८ जना बंगलादेशी र रोहिंग्या शरणार्थीलाई सरकारले बचाएको थियो भने इन्डोनेशियाली सरकारले एक हजार शरणार्थीको उद्धार गरेको थियो ।
यता संयुक्त राष्ट्रसंघ अन्तर्गत काम गर्ने संस्था युएनएचसीआरले सन् २०१५ को पहिलो महिनामा नै २५ हजार शरणार्थी म्यानमार र बंगलादेशबाट मानव तस्करहरुको डुंगामा सवार अवस्थामा उद्धार गरेको जनाएको छ भने जनवरी र मार्च महिना भित्रमा ३ हजार जना समुद्रमा नै मारिएका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु