३२ बुँदे घोषणापत्र जारी गर्दै नास्प सम्मेलन सकिदै

२०७२ बैशाख ११ गते, शुक्रबार

काठमाडौं,१० वैशाख । बाङडुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी ३२ बुँदे घोषणापत्र जारी गर्दै एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सव आज यहाँ सम्पन्न भयो । विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण भन्ने नाराका साथ सो सम्मेलन यही बैशाख ६ गतेदेखि सुरु भएको थियो ।
सो सम्मेलनमा एसिया तथा अफ्रिकाका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहको थियो ।
विश्वमा शान्ति र समृद्धिका लागि एसिया र अफ्रिका बीच सम्बन्ध र एकता आगामी दिनमा अझ सुदृढ बनाउँदै जाने, सन् १९५५ मा इन्डोनेसियाको जकार्तामा सम्पन्न पहिलो एसियाली अफ्रिकी सम्मेलनको घोषणा पत्र नै यस क्षेत्रको लागि मार्गदर्शक सिद्धान्त भएकाले यस क्षेत्रको समस्या तीनै घोषणापत्रमा आधारित रही खोजिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
विकासोन्मुख , अल्पविकसित एवम भू परिवेष्ठित देशले भोग्नुपरेका समस्यालाई संयुक्त राष्ट्र संघमा साझा धारणा बनाई उठान गर्ने, एसिया अफ्रिका क्षेत्रको व्यापार तथा लगानी बढाउन अन्तर क्षेत्रीय सहकार्यमा जोड दिने, यस क्षेत्रबाट गरिबी भोकमरी अन्त्यका लागि जोड दिने घोषणापत्रमा रहेका छन् । घोषणापत्रमा एशिया अफ्रिकी देशका जनता जनता बीचको सम्बन्धलाई अझ कसिलो बनाउन आदान प्रदानका कार्यक्रम गर्ने, खासगरी महिला र युवा वर्गलाई शसक्तिकरण गर्दै उनीहरूलाई सामाजिक तथा आर्थिक विकासको मूल धारमा ल्याई दिगो विकास गर्ने उल्लेख भएका छन् ।
एसिया अफ्रिकी क्षेत्रको आर्थिक सामाजिक समृद्धिका लागि दक्षिण दक्षिण वीचको सहकार्यमा जोड दिने, यस क्षेत्रबाट आतंकवाद अन्त्य गर्नका लागि साझा रणनीतिका साथ काम गर्ने, खाद्य सुरक्षा, प्राकृतिक विपद्मा सहकार्य गर्ने प्रतिवद्धता सो घोषणापत्रमा भएको छ ।
घोषणापत्रमा अन्तरसीमा हुने अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान गर्ने, यस क्षेत्रमा रहेका अपार प्राकृतिक स्रोतलाई उपयोग गर्न अनुभवलाई आदान प्रदान गर्ने रहेका छन् । प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको पुनः समर्थन सम्मेलनले जनाउँदै यस सम्बन्धी छुट्टै घोषणापत्र पनि जारी गरेको छ ।
समापनका अवसरमा आयोजक देश इन्डोनेसियाका राष्ट्रपति जोको बुडोडोले सम्मेलनमा सहभागीलाई धन्यवाद दिँदै यसले दक्षिण दक्षिण वीचमा सम्बन्ध कायम गर्न कोशेढुङ्गाका रूपमा काम गर्ने छ भन्नुभयो । उहाँले यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न सम्मेलनले नयाँ मार्ग दर्शक बन्यो भन्नुभयो । एशिया अफ्रिका सम्मेलनको ६० आँै वार्षिकोत्सव भोलि वाङडुङमा आयोजना हुँदै छ ।

प्रतिक्रियाहरु