हेपाटाइटिस ई’ को संक्रमण बढ्दो

२०७१ चैत्र २६ गते, बिहीबार

काठमाडौं । टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले गर्मी महिनामा अरु सरुवा रोग जस्तै हेपाटाईटिस ए र हेपाटाईटिस ई को जोखिम धेरै हुने भएकाले खानपीनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । यी रोग पानी र खानपीनकै कारण लाग्ने भएकाले ध्यान दिन डाक्टरको सल्लाह छ ।
टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार अहिले कामका लागि भारत गएका नेपालीमा यो रोग देखा परेको छ । हेपाटाईटिस ए त्यति खतरनाक नभए पनि हेपाटाईटिस ई खतरनाक हुन्छ । हेपाटाईटिस ए लागे डाक्टरको सल्लाहमा एक/डेढ महिना घरमै आराम गरे निको हुन्छ ।
तर हेपाटाईटिस ई ले छिट्टै कलेजोमा असर गर्ने भएकाले निको हुन धेरै समय लाग्ने डाक्टर पुनले बताउनुभयो । भारतबाट फर्किएकाहरुमा हेपाटाईटिस ई देखिएकाले उनीहरुको परिवारले बढी सावधानी अपनाउनुपर्नेमा डाक्टर पुनको जोड छ । यो रोगले महामारीको रुप लिने भएकाले नेपाल भारत ओहोरदोहोर गर्ने व्यक्ति र उनीहरुको आफन्त, साथीभाई र परिवारले स्वास्थ्यमा बढी ख्याल गर्नुपर्छ ।
सरकारीस्तरबाटै भारत जाने/आउनेलाई त्यहाँ फैलिएको रोगकाबारे सजग गराउन सके यस्ता रोगको महामारी फैलिनबाट रोक्न सकिने उहाँले बताउनुभयो । हेपाटाईटिस ई को भाइरसले अरुको तुलनामा गर्भवती महिलालाई छिटो आक्रमण गर्छ ।
डाक्टरका अनुसार गर्भवतीमा यो रोग लागे निको हुने सम्भावना कम हुन्छ । आँखा र शरीर पहँलो हुनु, दिसापिसाबमा खराबी आउनु लगायत हेपाटाईटिस ए र ईका लक्षण हुन् ।

प्रतिक्रियाहरु