मावि र निमावि तहको स्थायी पदपूर्तिका लागि आवेदन खुला

२०७१ चैत्र २४ गते, मंगलवार

काठमाडौ, २४ चैत । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहको रिक्त पदपूर्तिका लागि आवेदन खुला गरेको छ । पाँच दिनअघि शिक्षा विभागले देशभरका माध्यमिक र निम्नमाध्यमिक शिक्षकको रिक्त दरबन्दी शिक्षक सेवा आयोगलाई उपलब्ध गराएपछि आयोगले आज आवेदन खुला गरेको हो । आयोगका उपसचिव तथा प्रवक्ता सुदर्शन मरहट्ठाले पाँचै विकास क्षेत्रका बिभिन्न स्थानबाट फारम भर्न सक्नेगरी आवेदन खुला गरिएको जानकारी दिए ।
आवेदनका लागि पूर्वान्चलमा ४, मध्यमान्चलमा ५, पश्चिमान्चलमा ५, मध्यपश्चिमान्चलमा ६ र सुदूरपश्चिममा ३ ओटा स्थानमा व्यवस्था गरिएको छ । माध्यमिक तहमा अङ्ग्रेजी बिषयका लागि ३ सय ३३, नेपालीमा २ सय १२,गणितमा २ सय १७, बिज्ञानमा २ सय ७४,सामाजिक शिक्षामा १ सय ९९ पदका लागि आवेदन आह्वान गरिएको छ ।
स्वास्थ्य जनसंख्या तथा वातावरणमा २४, अर्थशास्त्रमा १६, शिक्षामा १, कम्यूटर विज्ञानमा २, संस्कृतिमा १, स्वास्थ्य तथा शारीरिकमा २, संस्कृत साहित्यमा २ र संस्कृत भाषामा ३ जनाका लागि आवेदन खुला गरिएको आयोगले जनाएको छ ।
त्यस्तै निमाविको अङ्ग्रेजीमा ५ सय ५, नेपालीमा ३ सय १८, गणितमा २ सय २३, बिज्ञानमा २ सय ३९, सामाजिक शिक्षामा २७७, संस्कृत व्याकरणमा ४ जनाका लागि आवेदन आह्वान गरिएको छ । यसपाली आवेदन फारम वितरण नगरिएको जानकारी दिदै आयोगका प्रवक्ता मरहट्ठाले आयोगको वयवसाइटबाट फारम डाउनलोग गरी भर्ने व्यवस्था गरिएको बताए ।
आगामी असार ११ मा मावि र १२ गते निमावि तहको लिखित परीक्षा हुने पनि शिक्षा सेवाआयोगले जनाएको छ । यसअघि आयोगले १३ हजार ५९ पदका लागि गत वर्षको जेठमा परीक्षा सञ्चालन गरेको थियो । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले भने शिक्षा ऐन संसोधनको प्रक्रियामा रहेको बेला कार्यरत अस्थायी शिक्षकलाई वेवास्ता गर्दै आवेदन खुला गरिएकोभन्दै विरोध जनाएको छ ।

प्रतिक्रियाहरु