पाकिस्तानमा बाह्र जनालाई फाँसी

२०७१ चैत्र ३ गते, मंगलवार

काठमाडौं । पाकिस्तानका विभिन्न जेलमा रहेका कम्तीमा १२ जना अपराधीलाई मङ्गलबार बिहान फाँसी दिइएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । पूर्वी पञ्जाव प्रान्तका विभिन्न जेलमा रहेका १० अपराधी र कराँचस्थित दुई जनालाई फाँसी दिइएको स्थानीय उर्दु च्यानलले जानकारी दिएको छ । ती अपराधीलाई झाङ्ग, मेनवाली, रावलपिन्डी, कराँची, फैसलाबाद, गुज्रान्वाला र मुल्तान जिल्लामा फाँसी दिएको जनाइएको छ । मङ्गलबार बिहान १४ जना अपराधीलाई फाँसी दिइने सूची तयार गरिएकामा अन्तिम घडीमा दुई जनालाई सो सूचीबाट हटाइएको जनाइएको छ ।उनीहरुलाई आजै फाँसी नदिइएको हो वा फाँसीको सजाय नै मिनाहा गरिएको हो भन्ने बारेमा भने केही बताइएको छैन ।
फाँसी दिइएका ती व्यक्ति माथि घरेलु हिंसा र आतङ्ककारी आक्रमणको आरोप लागाइएको थियो । उनीहरु लामो समयदेखि नै जेलमा रहेका थिए ।
गएको छ वर्षयता स्थगित गरिएको फाँसीको सजाय पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले खुल्ला गर्नुभएयता कयौँ अपराधीलाई पाकिस्तानमा फाँसीमा झुण्डाइसकिएको छ ।प्रधानमन्त्रीले उक्त निर्णय प्रान्तीय राजधानी पेसावरमा रहेको एक सैनिक विद्यालयमा तालिवानी आतङ्ककारी समूहले ३४ जना बालबालिकासहित १५० व्यक्तिको हत्या गरेपछि आएको हो । – एजेन्सी

प्रतिक्रियाहरु