हेलिकप्टर चढेर सिकारमा

२०७१ फाल्गुन ३० गते, शनिबार

काठमाडौ ।ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकार याम चलिरहेको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष पुग्ने क्रम सुरु भएको छ । फागुन १ गतेदेखि सुरु भएको दोस्रो यामका लागि १३ नाउर र ६ झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ । तालिमप्राप्त सिकारीले आगामी वैशाख ७ गतेसम्म आरक्ष क्षेत्रका विभिन्न क्षेत्रमा पुगेर सिकार खेल्नेछन् । छ सिकार संस्थामार्फत १३ विदेशी सिकारी सिकार खेल्न आरक्ष क्षेत्रमा आउने कार्यालयका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
सिकारका लागि नेपाल वाइल्डलाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि, ट्र्याक एन्ड टेल्र्स प्रालि र ओपन नेपाल वाइल्डलाइफ सफारीमार्फत सिकारी आरक्ष क्षेत्रमा आउन लागेका हुन्, जसमा अमेरिकी चार, जर्मनेली दुई, स्पेनी दुई, नर्वेली, दक्षिण अमेरिकी, क्यानडाली र डेनिस एक एक जना हुने छन् ।
स्पेनका एक सिकारी हेलिकोप्टरमार्फत आरक्ष पुगेर नाउरको सिकार गरी फर्किसकेको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । अन्य सिकारी पनि जाने तयारीमा रहेको जनाइएको छ । सबैजसो सिकारी हेलिकोप्टरमार्फत नै ढोरपाटन पुग्ने गरेका छन् । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी छ क्षेत्रमा दोस्रो यामका लागि सिकार अनुमति दिइएको छ । यसअघि सुनदहमा अनुमति लिएर पनि कतिपय सिकारी सिकारका लागि पुग्न सकेका थिएनन् ।
अन्यको तुलनामा सुनदह अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो मानिन्छ । बोलपत्र आह्वान गरेर यो याममा नाउर सिकारको अधिकतम रु पाँच लाख ५५ हजार र न्यूनतम एक लाख ४६ हजार तथा झारलको अधिकतम रु छ लाख ४६ हजार र न्यूनतम रु चार लाख आठ हजार दर कायम गरिएको आरक्ष कार्यालयले जनाएको छ ।
बर्सेनि ढोरपाटनमा सिकार खेलेबापत राज्यलाई तिर्नुपर्ने राजस्वको दर पनि बढ्दै गएको छ । सिकारबाट बर्सेनि करिब रु एक करोड राजस्व उठ्ने गरेको छ । संसारका विभिन्न मुलुकबाट तालिमप्राप्त सिकारी ढोरपाटन आउने गर्छन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको छ ।
लाखाँैं रुपैयाँ खर्चमा हेलिकोप्टर लिएर सिकारी आरक्ष क्षेत्रमा पुग्छन् । आरक्ष वर्षको दुई याममा सिकारका लागि खुला हुने गर्छ । असोजदेखि मङ्सिरसम्म पहिलो याम र फागुनदेखि वैशाखसम्म दोस्रो सिकार याम चल्ने गर्छ ।
यसअघि साउदी अरबका राजकुमार अल–बालिद बिन तलाल बिन अब्दुल अजिज अल साउद सिकार खेल्न ढोरपाटन आउन लागेको खबरले निकै चर्चा पाएको थियो । उहाँलाई सिकार खेलाउँदै आएको ‘नेपाल वाइल्ड लाइफ सफारी’ ले ल्याउन लागेको बुझिएको छ । यसैवर्ष ल्याउने तयारी भए पनि विविध कारणवश उहाँको सिकार भ्रमण पर धकेलिएको जनाइएको छ । आरक्षमा ठूला ओहदाका व्यक्तिसमेत सिकार खेल्न आउने गर्छन् ।रामबहादुर थापा, रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु