चरमपन्थी संगठनका मुखिया मारिए

२०७१ फाल्गुन २२ गते, शुक्रबार

काठमाडौँ । सिरियाको चरमपन्थी संगठन अल नुसराका प्रमुख एक हवाई आक्रमणमा मारिएका छन् ।जेहादी संगठनले सामाजिक संजालमा जनाएअनुसार प्रमुख अबु होमाम अल शामीका साथै अन्य तीन नेतासमेत आक्रमणमा मारिएका छन्। मारिने अन्य नेतामा अबु मुसाब, अबु ओमर र अबु बुर्रा अन्सारी रहेको बताइएको छ।
आक्रमणको बारेमा विस्तृत जानकारी दिइएको छैन । यद्यपि सरकारी समाचार सेवाले यसलाई अनौठो अपरेशनको संज्ञा दिएको छ। जुन सिरियाली सेनाले अल हाबित क्षेत्रमा चलाएको थियो ।
समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार यो आक्रमण टर्कीको सीमा नजिक सालकिन सहरमा भएको हो । एपीका अनुसार सिरियाको समाचार एजेन्सीले भनेको छ–सेनाले उत्तरी इदलीब प्रान्तमा नुसरा नेतालाई निशाना बनाएको छ।
नुसरा फ्रन्ड सिरियाका राष्ट्रपति बशर अल असदलाई हटाउनका लागि लडाई लडिरहेको सबैभन्दा शक्तिशाली संगठन हो । बुधबार नुसरा फ्रन्टले एयरफोर्स इन्टेलिजेन्सको मुख्यालयमा आक्रमण गरेको थियो ।
अल नुसरा अलेप्पो सहरमा लडिरहेको सबैभन्दा बलियो संगठनका रुपमा देखिएको छ । यसले एयरफोर्स मुख्यालयमा आक्रमण गरेपछि सिरियामा लडाई तिब्र भएको छ।
अमेरिकाले अल नुसरालाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रतिबन्धअन्तर्गत एउटा चरमपन्थी संगठनको रुपमा राखेको छ ।यसलाई लामो समयदेखि अल कायदाको सहयोगी संगठन मानिएको छ। – एजेन्सी

प्रतिक्रियाहरु