मिथिलाञ्चलको मध्यपरिक्रमा सुरु हुदै

२०७१ फाल्गुन ६ गते, बुधबार

काठमाडौँ, ६ फागुन । धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिलाञ्चलको मध्यपरिक्रमा आजबाट सुरु भएको छ । धनुषा कचुरी गाउँको मिथिल बिहारी मठबाट राम जानकीको डोला सहित जनकपुरधामको रत्नसागर मठ हुँदै बिभिन्न स्थान परिक्रमा गरी जानकी मन्दिरमा ल्याइन्छ ।
जानकीको डोला र जनकपुरका अन्य मठ मन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा सुरु हुने गर्छ । परिक्रमाले नेपालको ९० र छिमेकी मुलुक भारतको ३० गरी एक सय २० किलोमिटर लामो यात्रा गर्दछ । परिक्रमाको क्रममा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक ऐतिहासिक स्थान पुगिन्छ ।
बिहारको कलनामा रहेको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको महिटानी, जलेश्वरलगायत ठाउँ घुमेर अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी सकिन्छ ।
परम्परागत बाजागाजा र मौलिक पहिरनमा लाखौं नागरिक मध्यपरिक्रमामा सहभागि हुन्छन् । मिथिला महात्म्यमा वर्णन गरिएको मध्यपरिक्रमाको सुरुआत १८ औं शताब्दी अघिदेखि भएको अनुमान छ । रामले लंका विजय गरेपछि होली खेलेकाले त्यस परम्परालाई जीवन्तता दिन परिक्रममा सहभागीहरुले होली पनि खेल्ने परम्परा रहिआएको छ ।
परिक्रमा गर्नाले पुण्य प्राप्त गर्ने जनविश्वास रहेकाले नेपाल-भारतका लाखौं मानिस यो परिक्रमामा सहभागी हुने गर्छन् । नेपाल-भारतबीच सदियौँदेखि रहिआएको मधुर सम्बन्धलाई यसले थप प्रगाढ गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु