श्रीलङ्काले दर्जनौ कूटनीतिज्ञलाई फिर्ता बोलायो

२०७१ फाल्गुन ५ गते, मंगलवार

काठमाडौँ, ५ फागुन । श्रीलङ्का सरकारले विभिन्न मिसनमा रहेका कम्तीमा पनि ५० जना कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ ।यसरी फिर्ता बोलाइएका कूटनीतिज्ञहरुमा २७ जना कूटनीतिक मिसन प्रमुख पनि रहेका छन् । नयाँ सरकार निर्माण भएपछि यसअघिको सरकारले राखेका ती मिसन प्रमुखहरुलाई बोलाइएको समाचारमा जनाइएको छ ।सरकारले दिएको जानकारीअनुसार यसरी फिर्ता बोलाइएकोमा संयुक्त राज्य अमेरिका, पाकिस्तान र जापानका राजदूतहरु पनि रहेका छन् ।
त्यसैगरी कयौँं देशका मिसन प्रमुखहरु त्यसमा रहेका छन् । अष्ट्रेलियाका लागि श्रीलङ्काली मिसन प्रमुख पनि यसरी फिर्ता बोलाइएका कूटनीतिज्ञमा पाइएको छ ।श्रीलङ्काली विदेशमन्त्री मङ्गला समरावीरले विश्वका विभिन्न देशमा रहेका कम्तीमा पनि ५० जना कूटनीतिज्ञलाई बोलाएको जानकारी दिएका छन ।
उहाँले ती कूटनीतिज्ञहरुमध्ये कतिपय राजनीतिक नियुक्ति तथा अरु कयौँं व्यक्तिहरु त्यहाँको विदेश सेवाका कर्मचारी पनि नरहेकाले पनि फिर्ता बोलाउनुपरेको बताएको समाचारमा उल्लेख गरिएको छ ।
यसअघिको सरकारले कयौँ स्थान र देशमा आफन्त र आफ्नो सरकारको निकट रहेका व्यक्तिलाई नियुक्त गरेकोले पनि ती देशमा सक्षम र हाल श्रीलङ्काको कूटनीतिक सेवामा रहेका व्यक्तित्व पठाउनका लागि उनीहरुलाई फिर्ता बोलाएको बताएको छ ।
यसअघिको महिन्दा राजपाक्छेको सरकारका समयमा श्रीलङ्काको अन्य क्षेत्रजस्तै वैदेशिक सम्बन्ध एवम् परराष्ट्र नीतिका क्षेत्रमा पनि आफन्तहरुकै भीडभाड बढेकोले पनि वर्तमान सरकारले यो निर्णय गरेको जनाएको छ ।
श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्काले विभिन्न क्षेत्रमा पुनसंरचना गर्ने तयारी गरिरहेको बताउनुभएको छ । साथै उहाँले श्रीलङ्काले कूटनीतिक क्षेत्रमा पनि पुनसंरचना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन । एजेन्सी

प्रतिक्रियाहरु