सातसय वर्ष पुरानो गुम्बा जलेर नष्ट

२०७१ फाल्गुन ५ गते, मंगलवार

काठमाडौँ, ५ फागुन । उत्तरी गोरखाको सामागाउँ गाविस–६ मा रहेको सात सय वर्ष पुरानो लाप्राङ गुम्बा जलेर नष्ट भएको छ ।गुम्बाभित्र बालेको टुकी ढलेपछि सल्केको आगोले गुम्बा जलेर खरानी भएको स्थानीय बासिन्दा मिङमार छिरिङ लामाले जानकारी दिए ।गएराति करिब ११ बजेतिर गुम्बामा आगो लागेको थियो । स्थानीय बासिन्दाले आज बिहान ३ बजेतिरमात्रै गुम्बा जलेको थाहा पाएका थिए ।
“गुम्बा जलेको थाहा पाएपछि गाउँले सबै भेला भए । केही गरे पनि गुम्बामा दन्केको आगो निभाउन सकिएन”, लामाले टेलिफोनमा भने , “हिउँ जमेकाले गुम्बाको छानो जलेको छैन ।” गुम्बाभित्र रहेका बुद्धका मूर्ति, चाँदीका सिक्का, नगद पैसा, हीरा, लत्ताकपडा र काठ जलेर नष्ट भएको लामाको भनाइ छ ।
“पुरातात्विक महत्वको गुम्बाभित्र धेरै वर्ष पुराना किताब थिए,” लामाले भने , “बुद्ध धर्मसम्बन्धी महत्वपूर्ण दर्जनभन्दा बढी किताब जलेर खरानी भएका छन् ।” हिउँ परेकाले गुम्बामा सल्केको आगो निभाउने पानी नपाएको उनले बताए । “जताततै हिउँ परेको छ” उहाँले भन्नुभयो, “हिउँले आगो निभेन । पानी ल्याउन सकिएन ।” गुम्बा जलेपछि करोडौँको क्षति भएको लामाको भनाइ छ ।
गुम्बा पूर्णरुपमा जलेको सामागाउँ प्रहरी चौकीले पनि जनाएको छ । तत्कालीन मुख्य लामा टासी दोर्जेको नाममा रहेको गुम्बा जलेको हो । उक्त गुम्बा गोरखा सदरमुकामदेखि ५२ कोश टाढा पर्छ ।
प्रहरी चौकी सामागाउँदेखि करिब दुई किलोमिटर टाढा रहेको गुम्बा जलेर खरानी भएको हो । गुम्बा जलेको ठाउँमा प्रहरीहरु पुगेका थिए । “गुम्बा जलेर भएको क्षतिको पूर्ण विवरण आएको छैन”, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक दीपक श्रेष्ठले भन्नुभयो, “प्रहरी टोली गुम्बा जलेको स्थानमै छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु