बैंकहरुमा साइबर डकैती, १ अर्ब डलर चोरी

२०७१ फाल्गुन ५ गते, मंगलवार

काठमाडौँ । विश्वमा झण्डै एक सय वटा बैंक तथा वित्तिय संस्थामा साइबर डकैती भएको छ । इतिहासकै सबैभन्दा डरलाग्दो साइबर डकैतीको निशाना बनेका बैंक तथा वित्तिय संस्थाहरुबाट गरी साइबर आक्रमणकारीहरुले १ अर्ब डलर भन्दा बढि रकम चोर्न सफल भएको कम्प्युटर सेक्युरिटी कम्पनी क्यास्पर्स्की ल्याबले जनाएको छ ।
साइबर डकैतीको यो सिलसिला सन् २०१३ देखि सुरु भई अहिलेसम्म पनि चलिरहेको ल्याबले जनाएको छ । क्यास्पर्स्कीका अनुसार बैंकिङ क्षेत्रको साइबर डकैतीका लागि रुस, चीन तथा युक्रेनका साइबर अपराधी समूहहरु जिम्मेवार छन् । यो विषयमा छानविनका लागि आफूले युरोपोल तथा इन्टरपोलसँग काम गरिरहेको क्यास्पर्स्कीले जनाएको छ ।
साइबर डकैतीबाट अमेरिका, रुस, जर्मनी, चीन, युक्रेन तथा क्यानडा लगायत ३० देशका बैंक तथा वित्तिय संस्थाहरु पीडित बनेका छन् ।
इन्टरपोलको डिजिटल अपराध केन्द्रका निर्देशक सन्जय विरमनीले साइबर डकैतीको यो घटनाले अपराधीहरुले कुनैपनि प्रणालीको जोखिमजन्यताको दुरुपयोग गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताए ।
पछिल्लोपटकको साइबर अपराधीले प्रयोग गरेका विधिहरुले साइबर डकैती नयाँ चरणमा प्रवेश गरेको देखाएको भन्दै क्यास्पर्स्कीले साइबर अपराधीले बैंक अकाउण्टवालालाई प्रभाव नै नपारी सिधै बैंकबाट रकम चोर्ने गरेको पाइएको बताएको छ ।
यस्तो आपराधिक समूहलाई क्यास्पस्र्कीले कारबानकको संज्ञा दिएको छ । उनीहरुले बैंकिङ कम्पनीको नेटवर्कमा कम्प्युटर भाइरसद्वारा आक्रमण गरी संक्रमित बनाउने र त्यसपछि बैंकका हरेक कर्मचारीका गतिविधिहरुलाई हेर्ने तथा रेकर्ड गर्ने गरेको पाइएको छ ।
बैंकमा साइबर डकैती हरेक २ देखि ४ महिनाको बीचमा हुने गरेको र हरेक पटकमा १ करोड डलर सम्म चोरी हुने गरेको पाइएको क्यास्पर्स्कीले जनाएको छ ।

प्रतिक्रियाहरु