आज चन्द्रग्रहण लाग्ने

२०७१ आश्विन २२ गते, बुधबार


काठमाडौँ, २२ असोज । आज दिउँसो दुई बजेर ५९ मिनेटपछि खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । खण्डग्रास चन्द्रग्रहण बेलुकी छ बजेर १९ मिनेटमा समाप्त हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन् । दिउँसो दुई बजेर ५९ मिनेटबाटै ग्रहणले स्पर्श गरेपनि नेपालबाट भने चन्द्र उदाएपछि पाँच बजेर ५१ मिनेटपश्चात् मात्र देख्न सकिनेछ ।जम्मा २८ मिनेटमात्र देखिने खण्डग्रास चन्द्रग्रहण भएपनि तीन प्रहर अघिदेखि नै ग्रहण बार्नुपर्ने र त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजन, शयन, मैथुन, श्रृङ्गार र बध गर्न नहुने शास्त्रीय धारणा रहेको अध्यक्ष गौतमले जानकारी दिए ।
आज चन्द्रग्रहण परेपनि एकोद्दिष्ट श्राद्ध, कार्तिक स्नान आरम्भ र आकाशदीप दान सुरु गर्न कुनै बाधा नरहेको पनि समितिले स्पष्ट गरेको छ ।
ग्रहणको चन्द्रोदयपछि पाँच बजेर ५१ मिनेटमा स्नान गरी ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
ग्रहणको फल राशि अनुसार कसैलाई शुभ र कसैलाई अशुभ हुन्छ भनेर ज्योतिषीहरुले बताएका छन् । तोयनाथ पन्तको पात्रो अनुसार मेष राशिको लागि खण्डग्रास चन्द्रग्रहणले व्यय बढाउने छ भने वृष राशिलाई लाभ फल दिनेछ । मिथुन राशिलाई चन्द्रग्रहणले सुख दिनेछ भने कर्कट राशिको मान नाश हुनेछ ।
त्यस्तै, सिंह राशिका लागि कष्ट हुनेछ भने कन्या राशिको लागि स्त्रीपीडा हुने तोयनाथ पन्तको को पात्रोमा लेखिएको छ । तुला राशिलाई सौख्यम् हुनेछ भने वृश्चिकलाई चिन्ता बढ्नेछ। धनुमा व्यथा लाग्नेछ । मकर राशि भएकाहरुको श्रीप्राप्ति हुनेछ। कुम्भलाई क्षति हुनेछ भने मीन राशिलाई घात हुने योग भएको पात्रोमा उल्लेख छ। त्यस्तै रेवती नक्षत्र भएका मीन राशिलाई ग्रहणले अतिकष्ट दिने पनि पात्रोमा लेखिएको छ ।
समष्टीमा भन्ने हो भने वृष, मिथुन, तुला र मकरलाई चन्द्रग्रहणको फल शुभ देखिन्छ भने अन्यलाई चन्द्रग्रहणले अशुभ फल दिने पात्रोमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु