ईपीएसकाे भाषा परीक्षा हुँदै

२०७१ आश्विन १० गते, शुक्रबार


काठमाडौं, १० असोज। रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगत काम गर्न दक्षिण कोरिया जानेका लागि आज र भोलि भाषा परीक्षा हुँदैछ । परीक्षा सञ्चालनका लागि २२ वटा केन्द्र तोकिएको छ । ईपीएस शाखाका प्रमुख डिल्ली बास्तोलाका अनुसार काठमाण्डूमा १५ र ललितपुरमा ७ वटा केन्द्र तोकिएको छ । उहाँले दिनमा दुई सिफ्टमा परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो । पहिलो सिफ्ट विहान साढे ८ बजेदेखि ११:१० सम्म र दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि ३:४० सम्म चल्नेछ । परीक्षामा ६२ हजार २ सय २३ जना सहभागी हुँदैछन् । त्यसमध्ये आज ३१ हजार १ सयले परीक्षा दिनेछन् भने बाँकीले भोलि दिनेछन् ।
परीक्षार्थीले परीक्षा दिन जाँदा प्रवेश पत्र, नागरिकता वा पासपोर्ट अनिवार्य लैजानुपर्छ भने परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्छ । परीक्षा सञ्चालन र अनुगमनका लागि ६२ सदस्यीय कोरियन टोली पनि आइसकेको छ । भाषा परीक्षाको नतिजा आउँदो २९ गते सार्वजनिक हुने ईपीएस शाखाले जनाएको छ । नेपालले ६ वर्ष अघिदेखि रोजगार अनुमति प्रणाली अनुसार दक्षिण कोरियामा कामदार पढाउन थालेको हो । ईपीएस शाखाका अनुसार अहिले कोरियामा झण्डै २६ हजार नेपाली कार्यरत छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु