आज घटस्थापना

२०७१ आश्विन ९ गते, बिहीबार


काठमाडौँ, ९ असोज । नेपालीको महान् पर्व बडा दसैँ आजदेखि सुरु भएको छ ।आजदेखि सुरु भएको बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आव्हान गरी पूजा आरम्भ गरिन्छ ।आज बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गोतमले बताउनुभयो । कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु