अान्दोलनरत अस्थायी शिक्षक भन्छन् -सरकारले वास्ता गरेन

२०७१ श्रावण २१ गते, बुधबार

काठमाडौँ , २१ साउन। रिले अनशन बसेको २ सय ३१ दिनसम्म पनि अस्थायी शिक्षकको माग सम्बोधन गर्नेतर्फ सरकारले कुनै वास्ता नगरेको भन्दै अनशनकर्मीले गुनासो गरेका छन् । सेवा अवधि गणना गरी अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्नेलगायतका माग गरी अनशन बस्दै आएका अनशनकर्मीले बुधवार पत्रकारसँग कुरा गर्दै अनशन बसेको लामो समयसम्म पनि सरकारले कुनै चासो नदेखाएको भन्दै गुनासो गरेका हुन् ।
अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिको अगुवाइमा गत पुस ३ गतेदेखि अस्थायी शिक्षकहरु रत्नपार्कस्थित शान्तिवाटिकामा रिले अनशन बस्दै आएका छन् । अनशनकर्मीहरुले कुनै पनि बहानामा अस्थायी शिक्षकलाई हटाउन नपाइने, शिक्षा नियमावलीबाट करार शिक्षकको व्यवस्था हटाउनुपर्ने र संशोधित शिक्षा ऐन, २०६३ लाई कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
अनशनकर्मी सूर्यप्रसाद तिवारीले आफूहरुको आन्दोलनलाई दबाउनका लागि सरकारले पटक-पटक सहमतिमात्र गर्ने तर कार्यान्वयन भने नगर्ने गरेको भन्दै आपत्ति जनाए । – रासस

प्रतिक्रियाहरु